INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक समाचारको प्रभावः बाँधिएका बालकको उद्धार गरी उपचारमा पठाइयो

दुई वर्ष अघिदेखि डोरीले बाँधिएर कष्टकर जीवन बिताइरहेका मिक्लाजुङ गाउँपालिका–५ का पाँच वर्षीय मित्रहाङ लिम्बूलाई मङ्सिर १३ गते उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

स्थानीय सरकार, स्थानीय प्रशासन, मानव अधिकारर्मी, पत्रकारलगायतको उपस्थितिमा शारीरिक तथा मानसिक कमजोरी रहेका बालकलाई उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

photo20181130panchthar

बालकको अवस्थाका बारेमा इन्सेक पाँचथरले कातिक ३० गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा एवम् मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो विषयमा छलफल गरिएको थियो ।

नेकपाका नेता होम जवेगुले पीडित बालकले कष्टपूर्ण जीवन बिताइरहेको भन्दै उद्धार गर्न आग्रह गरेका थिए । त्यसपछि बालकको अवस्थाका बारेमा अन्नपूर्ण पोष्ट, इन्सेक अनलाइनलगायतका सञ्चार माध्यममा समाचार प्रकाशन गरिएको थियो ।

समाचार प्रकाशन भएसँगै इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाले जिल्ला प्रशासन कार्यालय– जिल्ला बाल कल्याण समिति, जिल्ला प्रहरी कार्यालय–महिला तथा बालबालिका सेवा केन्द्र, स्थानीय सरकार, मानव अधिकारर्मी, पत्रकारलगायतसँग पीडित बालकको उद्धार र सहयोगका लागि अभियान चलाएका थिए ।

इन्सेक प्रतिनिधिको अभियानबाट सङ्कलित रकम १६ हजार १ सय रुपियाँ पीडितका अभिभावकलाई हस्तान्तरण गरिएको छ ।

सहयोग सङ्कलन गर्ने क्रममा इन्सेक प्रतिनिधि, व्यासायी सोमजङ्ग थापाबाट जनही ५ हजार रुपियाँ, मानव अधिकार तथा शान्ति समाजबाट २ हजार ६ सय रुपियाँ, समथिङ फाउण्डेशन नेपालबाट २ हजार ५ सय रुपियाँ र नेपाल मानव अधिकार सङ्गठनबाट १ हजार रुपियाँ जम्मा गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले बालकको घरैमा पुगी सो रकम र लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।

यस अभियानमा मिक्लाजुङ गाउँपालिकाले समेत २० हजार रुपियाँ सहयोग गरेको थियो । दीर्घ रोगीहरूलाई सहयोग गर्ने गाउँपालिकाको नियमानुसार सो रकम हस्तान्तरण गरिएको अध्यक्ष अमरराज माखिमले बताए ।

बालकको निशुल्क उपचारका लागि सो प्रतिष्ठानको प्रशासनसँग छलफल भएको पत्रकार भीम बास्कोटाले जानकारी दिए ।

अन्य

भिडियो