INSEC Online

📅 २०८३ जेष्ठ २१

बालगृहको भवन जीर्ण हुँदा आश्रित बालबालिका जोखिममा

बेनीबजारमा रहेको जिल्ला बालगृहको भवन जीर्ण बन्दा त्यहाँ आश्रय लिएर बसेका बालबालिकाहरू जोखिम रूपमा दैनिकी बिताइरहेका छन् ।

नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहको भवन मर्मतका लागि पहल नगरिँदा भवन जीर्ण बन्दै गएको छ । सो भवन २०७२ को भूकम्पको धक्काका कारण पनि थप कमजोर बनेको हो ।

दिउँसो विद्यालय पढ्न जाने बालबालिका अरू समयमा बस्ने सो भवनका पर्खालहरू चर्किएको नेपाल बाल सङ्गठनका सभापति नेत्रबहादुर महतले बताए । महतले भने–‘बालबालिकाहरू बस्नका लागि भवन साँघुरो त छँदै छ । त्यसमाथि कमजोर भएर भत्कने अवस्थामा पुगेका कारण समस्या भएको छ ।’

भवन पुनःनिर्माणका लागि केन्द्र र स्थानीय तहमा माग गरिएको भए पनि सहयोग नहुँदा समस्या भएको छ । बालगृहमा हाल १२ जना अभिभावकविहीन बालबालिका आश्रित छन् ।

गृहमा म्याग्दी जिल्ला भित्रैका सात जना बालिका र पाँच जना बालक रहेका छन् । उनीहरूको उमेर ७ देखि १५ वर्षसम्म रहेको छ । बालबालिका जोखिममा रहेका कारण नयाँ भवनमा तत्कालै सार्न पहल गर्नुपर्ने सभापति महतले बताए ।

बालगृह मर्मतका लागि नगरपालिकाको आकस्मिक कोष अन्र्तगत ५ लाख रुपियाँसम्म सहयोग गर्न सक्ने बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ बताउँछन् । नयाँ भवन निर्माणका लागि भने नगरपालिकासँग बजेट नभएको श्रेष्ठले प्रतिक्रिया दिए ।

अन्य

भिडियो