१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा १७ र १४ वर्षीय दुई बालकलाई जिल्ला अदालतले मङ्सिर ११ गते जनही पाँच वर्ष कैद सजाय गरेको छ ।
संरक्षकको जिम्मामा रहेका आरोपित दुवै बालकलाई न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलाशले बलात्कार गरेको कसुरमा साढे दुई वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष थप गरी पाँच वर्ष कैद सजाय गरेको हो ।
आरोपितहरू बालक रहेकाले बालसुधार गृहमा राखिने बताइएको छ । तर, फैसलालगत्तै आरोपितहरू फरार भएका छन् ।
कञ्चनरूप नपा–९ रूपनगरस्थित विष्णु सामुदायिक वनभित्र सुन्दरी खोला किनार झाडीमा ०७४ असार १७ गते बिहान पीडितमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७४ असार १९ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७४ असार १९ गते उजुरी दर्ता गरी सोही दिन आरोपितहरूलाई गिरफ्तार गरेर मुद्दा चलाएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण सुनसरीस्थित जिल्ला अस्पताल इनरूवामा ०७४ असार १९ गते गरिएको थियो ।
आरोपितहरूले गाई चराउन गएकी पीडितले नै फोन गरी बोलाएर यौन सम्पर्क गर्न र मोबाइलबाट भिडियो खिच्न लगाएको बताएका छन् । उनीहरूका अनुसार भिडियो सार्वजनिक भएपछि आफ्नो कमजोरी लुकाउन पीडितकी आमाले झुठा मुद्दा दिएकी हुन् ।