प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् ।
पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको मङ्सिर ११ गते काठमाडौँमा आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उनले भर/अभरमा सुरक्षा दिने र श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उनले भने-“आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो पटक अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौँ । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन । एक चोटि सुरू भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।”
वृद्धभत्ता वितरण सुरू गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप खेप्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने-“कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए ।”
सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको जानकारी दिँदै उनले श्रमको सम्मान गर्न र सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाजअनुरुप सिङ्गो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताए ।
सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने-“सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, न त यो बचत हो । यो एउटा ऐक्यबद्धतामा आधारित प्रणाली हो । ‘ढुकुटीबाट झिक्दै–बाँड्दै हैन, ढुकुटीमा भर्दै–भरथेग गर्दै’ अघि बढ्ने विधि हो ।” समाचार साभारः रासस सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ