इन्सेकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिरहेको बाह्य अनुगमन अन्तर्गत ०७५ मङ्सिर ११ गते सल्यानको सदरमुकामस्थित सरोकारवालासँग जिल्लाको अवस्थाको अनुगमन गरेको छ ।
जिल्ला अनुगमनमा रहेको टोलीसँगको भेटका क्रममा जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले जिल्लामा पछिल्लो समय बालविवाह र सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको बताउँदै यसको प्रत्यक्ष मारमा साना बालबालिका पर्ने गरेको बताए ।

सम्बन्ध विच्छेद गरेका अभिभावकबाट जन्मेका बालबालिकको भविष्य अन्यौलमा रहेको उनको भनाई छ । यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसँग अनुगमन टोलीले जिल्लाको मानव अधिकारका विषयमा जानरकारी लिएको छ ।
पत्रकार महासङ्घ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर मानव अधिकारको दस्तावेज तयार पार्ने गरेको काम प्रशंसनीय रहेको बताए ।
इन्सेकले महिला हिंसाका मात्र विषय उठाउन गर्ने भन्दा पनि शिक्षा, स्वास्थ्य, खाद्यको विषयलाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने बताउँदै उनले वर्ष पुस्तकमा समावेश घटनाले जिल्लाको वस्तुस्थिति बुझ्न सहज हुने उल्लेख गरे ।
इन्सेकको वर्ष पुस्तकलाई आधार मानेर गाउँपालिका र नगरपालिकासँगको समन्वयमा महिला हिंसा र समग्र मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन भूमिका खेल्नुपर्नेमा उनको जोड रहेको छ ।
पत्रकार दिपक शर्माले अझैपनि ग्रामीण भेगका हिंसामा परेका महिलाहरू खुलेर न्यायालयसम्म पुग्न नसकेको बताए । घरपरिवारबाट महिलाहरूले हिंसा भोग्दै आएपनि सुरक्षाको सुनिश्चितता नभएकाले न्याय माग्न खुलेर बाहिर आउन नसकेको उनको भनाई छ ।
जिल्लामा बालविवाहका घटना बढ्दै गएको बताउँदै ओरेक नेपाल सल्यानका कार्यक्रम संयोजक अशोक चौधरीले बालविवाहकै कारण घरेलु हिंसाका घटनाहरू भएको बताए ।
महिलाहरू आत्मनिर्भर नहुँदा तथा पेसा व्यवसायमा संलग्न नहुँदा महिलाहरू घरेलु हिंसाबाट पीडित हुने गरेको उनको भनाई छ ।
इन्सेक कर्णली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकारको संरक्षणको पक्षमा वकालत गर्ने सम्पुर्ण पक्ष एक भएर मानव अधिकार हन्नका घटना विरूद्ध लाग्नु पर्नेमा जोड दिए । महिला हिंसाका घटनालाई उठान गर्नुका साथै खाद्यान्न, बेरोजगारी, शिक्षा स्वास्थ्य लगायतका विषयलाई पनि इन्सेकले प्राथमिकतामा राखेको उनले बताए ।
अनुगमन टोलीमा कर्णाली प्रदेश प्रमुखका प्रेस सल्लाहकार श्रीधर पौडेल, प्राध्यापक युवराज शर्मा, महिला अधिकारकर्मी पवित्रा शाही, पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापालगायतको सहभागिता रहेको थियो ।