INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा नौ वर्ष कैद फैसला

भारतीय नागरिकलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती मागेको कसुरमा सुन्दरहरैँचा नगरपालिका–१ का ३९ वर्षीय टिकाराम खवास र सोही नपा–९ का ५७ वर्षीय नारायण शाह तेलीलाई जिल्ला अदालतले मङ्सिर १० गते जनही ९/९ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ०७४ माघ २४ गते ६ जना भारतीय नागरिकलाई सुन्दरहरैँचा नगरपालिकाको एक होटलमा बन्धक बनाई फिरौती मागेको मुद्दामा सो कैद सजाय सुनाएको नायब सुब्बा श्याम ओझाले बताए ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनसरी इनरूवा नगरपालिका–३ का ५७ वर्षीय नारायण शाह, सोही ठाँउका २५ वर्षीय मधुकर शाह, मोरङ सुन्दरहरैचा नपा–१ का  ३८ वर्षीय टिकाराम चौधरी, सोही नपा–१० का ३७ वर्षीय कान्छा ठाकुर भन्ने ठगबहादुर गुरूङ र सुन्दरहरैचा नपा–१२ का २४ वर्षीय नवराज गौतमलाई गिरफ्तार गरेको थियो । अन्यको हकमा भने सफाई पाउने फैसला भएको नायव सुब्बा ओझाले बताए ।

कसुरदारहरूले माघ २४ गते भारत खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने ३६ वर्षीय भारतीय नागरिक राजकिशोर साह, ४२ वर्षीय अजयकुमार साह, ३० वर्षीय अखिलेश साह, ३८ वर्षीय दिनबन्दु तिवारी, ६२ वर्षीय बालेश्वर रजक र ४२ वर्षीय रञ्जितकुमारलाई अपहरण गरी होटलमा बन्धक बनाएका थिए ।

अपहरणमा परेका राजकिशोर साह २५ गते बिहान होटलबाट भाग्न सफल भई भारत गएको र गाँउका अन्य साथीहरूलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा आएर घटनाको जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

अन्य

भिडियो