कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला अदालतमा मङ्सिर ६ गते मुद्दा दर्ता गराएकी छिन् ।
घरेलु हिंसा पीडित बुचीयादेवीले न्यायको माग गर्दै यसअघि पटकपटक न्यायिक समिति र प्रहरीमा उजुरी दिएपनि न्याय नपाएको भन्दै इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरीदिन आग्रह गरेकी थिइन् ।
इन्सेक प्रतिनिधि र अधिकारकर्मीको पहलमा बुचीयादेवीको मुद्दा दर्ता भएपछि आरोपितहरूलाई मङ्सिर ७ गते जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने गरी अदालतले तारेख पर्चा काटेको छ ।
पीडितले कोशी गाउँपालिका–८ हरिपुरका ४६ वर्षीय बेचन खत्वे, ४२ वर्षीया सरस्वती खत्वे, ५५ वर्षीय जमुना खत्वे र २३ वर्षीय तैजु खत्वेविरूद्ध घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराएकी हुन् ।
तीन वर्षअघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले चरित्रमाथि आरोप लगाउँदै कुटपिट र मानसिक यातना दिने गरेकाले न्यायको माग गर्दै पटकपटक प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडितले इन्सेक प्रतिनिधिसँग गुनासो गरेकी थिइन् ।
पतिले साथ नदिएको र दलित भएकै कारण खत्वेलाई परिवारका सदस्यले विभिन्न आरोपमा कुटपिट गर्ने गरेको अधिकारकर्मी शिवेन्द्र कर्णले बताए ।
जेठाजु पैसावाल र पहुँचवाला व्यक्ति भएकाले प्रहरीमा उनीहरूविरूद्घ उजुरी लिएर जाँदा प्रहरीले घरको समस्या घरमै मिल्नु भन्दै पठाउने गरेको पीडित महिला खत्वेले बताइन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारले बुचीयादेवीको विषयमा परिवारका सदस्यसँग छलफल भएको र दुवै पक्षबीच मिलेर बस्ने सहमति भएको तर मुद्दा अदालत गएको विषयमा आफूलाई थाहा नभएको बताए ।
पीडितले प्रहरीमा ०७३ भदौ १७ गते, भदौ २४ गते र ०७४ असोज २० गते उजुरी लिएर गएकोमा दबाबमा सहमति गराइदिएको तर न्याय दिलाउने काम नगरेकाले अधिकारकर्मीलाई गुहार गरेको पीडित बुचीयादेवीले बताइन् ।