महोत्तरीका विभिन्न जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पताल वर्दिवास, प्राथमिक स्वास्थ्य केन्द्र गौशला, सम्सीलगायतका स्वास्थ्य संस्थामा रहेको आठ ओटा एम्बुलेन्स बिग्रिएको डेढ वर्षभन्दा बढी समय बित्दा समेत मर्मत हुन सकेको छैन । अतिआवश्यक रहेको एम्वुलेन्स समयमै मर्मत नहुँदा सेवाग्राहीहरू मार्कामा पर्दै आएका हुन् ।
सम्बन्धित सरोकारवाला निकायले मर्मतको लागि समयमै पहल नगरेपछि बिरामीको लागि अतिआवश्यक मानिने एम्बुलेन्स स्वास्थ्य संस्थाको कुनामा बिग्रिएर राखिएको हुन्छ ।
‘महङ्गो दरमा खरिद गरी ल्याइएको एम्बुलेन्स बिग्रँदा समेत मर्मततर्फ न त स्थानीय सरकारले ध्यान दिएका छन् न त जिल्ला जनस्वास्थ्य कार्यालयले नै ध्यान दिएको छ ।’-नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले भने ।
जसका कारण बिरामीहरूलाई उपचार गराउनका लागि बाहिर जानेक्रममा झण्झट हुने गरेको छ । जिल्ला स्तरमा उपचार सम्भव नभएपछि भाडाको गाडी खोजेर बिरामीलाई जनकपुर, विराटनगर, धरान, काठमाडौँसम्म लग्नु पर्ने बाध्यता रहेको उनले बताए ।
यहाँका बिरामीहरूलाई बाहिर रेफर गर्ने क्रममा एम्बुलेन्सले काठमाडौँ पुर्याउँदा ६ हजार तिर्नु पर्ने ठाउँमा अरू निजी गाडीमा १२ हजार तिर्नु पर्ने बाध्यता छ ।
जति महङ्गो परेपनि भाडामा गाडीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको गौशालाका व्यवसायी रञ्जित साहले बताए ।
एम्बुलेन्स सडक जाममा नफस्नु, समयमै गन्तव्यमा पुर्याउने, सोहीभित्र अक्सिजन र स्लिपरको व्यवस्था भएकाले बिरामीको साथी भनेको एम्बुलेन्स नै रहेको चिकित्सक विपीन विहारी यादवले जानकारी दिए ।
अन्य गाडीमा सो सुविधा नभएपछि बिरामीको ज्यान खतरा रहने गरेको यादवको भनाइ छ । यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक गिरेन्द्र झाले भने एम्बुलेन्स बिग्रिएको सम्बन्धमा आफूलाई कहिँकतैबाट थाहा नभएको प्रतिक्रिया दिए ।
स्वास्थ्य संस्थाहरूले एम्बुलेन्स लिने क्रममा मात्रै ध्यान दिने गरेको तर पाइसकेपछि एम्बुलेन्सको सम्बन्धमा कुनै किसिमको जानकारी नगराउने प्रवृत्तिको कारण महिनौँ बित्दा समेत एम्बुलेन्स थन्किएर बस्नुपरेको अवस्था सिर्जना भएको चिकित्सक झाले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय र महोत्तरी रेडक्रसमा दर्ता भएका एम्बुलेन्सको सङ्ख्या २८ रहेको छ । जसमध्ये १० ओटा एम्बुलेन्स विगत एक वर्षदेखि कामै नलाग्ने गरी महिनौदिनदेखि बिग्रिएर थन्किएको अवस्थामा रहेका छन् ।