INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन लाख १५ हजार घर पुनःनिर्माण

भूकम्पबाट भत्किएकामध्ये ३ लाख १५ हजार ८ सय ९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणबाट मङ्सिर ४ गते प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १ सय  ६१ लाभग्राहीमध्ये ७ लाख ३२ हजार ७ सय ७१ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ७ लाख २६ हजार ३ सय ३३ ले पहिलो किस्ता बुझेका छन् ।

पहिलो किस्ता लिएर ५ लाख ६० हजार ७ सय ८१ लाभग्राहीले पुनःनिर्माण सुरू गरेका छन् । जग निर्माण गरी ५ लाख ३१ हजार १९ भूकम्प पीडितले दोस्रो किस्ता माग गरेका छन् । दोस्रो किस्ताका लागि ५ लाख २२ हजार १ सय ९३ परिवार प्रमाणीकरण भएको तथ्याङ्क प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको मङ्सिर ४ गतेको बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गरेका छन् ।

मङ्सिर ४ गतेसम्म ५ लाख १८ हजार ५५ लाभग्राहीले भुक्तानी पाएका छन् । तेस्रो किस्ता माग गर्नेको सङ्ख्या ३ लाख ४४ हजार ३ सय ९८ पुगेको छ । तेस्रो किस्ताका लागि ३ लाख ३४ हजार ५० भूकम्प पीडित प्रमाणीकरण भएका छन् । घर निर्माण सम्पन्न गरेका ३ लाख १९ हजार ६ सय ६९ परिवारलाई तेस्रो किस्ता वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति भएका ५४ हजार ६ सय  ५८ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका छन् । जसमध्ये ११ हजार ८  सय ९५ ले अनुदान सम्झौता गरेका छन् । १० हजार ४ सय ६४ परिवारले पहिलो किस्ता लिएका छन् ।

प्रबलीकरण सूचीमा परेकाले दुई किस्तामा १ लाख रूपियाँ पाउने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । पुनःनिर्माण गर्नेले भने तीन किस्तामा ३ लाख रूपियाँ अनुदान पाउँछन् ।

समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रगति विवरण प्रस्तुत गरेको भएपनि गणपूरक सङ्ख्याको अभावमा मङ्सिर ४ गते बैठक स्थगित गरिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिइन् । यसै साता समितिको बैठकमा पुनःनिर्माणका बारेमा छलफल हुने जनाइएको छ । समाचार साभारः रासस

अन्य

भिडियो