२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुक्लागण्डकी नपा-८ का वडा अध्यक्ष कृष्ण रेग्मीविरूद्ध मङ्सिर ३ गते शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा पीडित पक्षले उजुरी दिएको छ । वडा अध्यक्ष रेग्मीले आफूलाई गत कात्तिक १६ गते बलात्कार गरेको पीडितको आरोप छ ।
नगरपालिकाले भने सो घटना आफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेको हुँदा आवश्यक कारवाहीको लागि निवेदनसहित पीडितलाई जिल्ला प्रहरी कार्यालय पठाएको जनाएको छ ।
उपमेयर एवम् न्यायिक समितिकी संयोजक सविता रसाईलीले बलात्कार घटनासम्बन्धी उजुरी कार्यक्षेत्र भन्दा बाहिर रहेको हुँदा आवश्यक कारवाहीको लागि निवेदनसहित पीडितलाई सोही दिन जिल्ला प्रहरी कार्यालय, तनहुँमा पठाएको बताइन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले सो घटनाका बारेमा न्यायिक समितिमा उजुरी परेको भएपनि प्रहरी कार्यालयमा भने अहिलेसम्म पीडित नआएको बताए । शाहले पीडितको उजुरी आएपछि मात्रै घटनाको आवश्यक अनुसन्धान गरी कारवाहीको प्रक्रिया थाल्ने बताए ।