अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की अध्यक्ष डा. ईन्दिरा श्रेष्ठलाई मङ्सिर ४ गते इन्सेक केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच स्वागत गरिएको छ ।
गत कात्तिक ३० गते सम्पन्न इन्सेक कार्यसमितिको बैठकबाट अध्यक्षमा चयन भएकी डा. श्रेष्ठलाई इन्सेकका कर्मचारीले स्वागत गरेका हुन् ।
निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले इन्सेकले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा डा. श्रेष्ठको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।
उनले सामाजिक न्यायको लक्ष्य प्राप्तिका लागि लोकतान्त्रिक प्रक्रियाका माध्यमबाट मानव अधिकारको सिद्धान्तलाई आत्मसात गर्दै सुशासनका माध्यमबाट समाजको सकारात्मक परिवर्तन गर्नुपर्ने विचार राखे ।
सत्यमा आधारित कार्यप्रणलीका कारण इन्सेकको विश्वसनीयता देशमा मात्र नभई अन्तर्राष्ट्रिय जगतसम्मै प्रवाह भएको बताउँदै उनले भने-‘संयुक्त राष्ट्रसङ्घको सन्धिजनित समिति वा विश्वव्यापी आवधिक समीक्षामा समेत इन्सेकको तथ्याङ्कलाई उद्धरण गरिन्छ ।’
अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले इन्सेकलाई विश्वसनीय बनाउन इन्सेकका अभियानकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सबैको ध्यान अझ राम्रो बनाउन लगाउनुपर्ने बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकबाट सम्पादन गरिने काममा अझै निखारता ल्याउने बताए ।