INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले न्याय दिलाउन चासो दिएनः पीडित परिवार

अरुण गाँउपालिका-३ प्याउलीको मर्‍याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी गिरफ्तार नहुँदा पीडित परिवारले न्याय पाउन सकेका छैनन् ।

०७४ असार १० गते हराएका ८ वर्षीय प्रदीप फुयाल, १४ वर्षीया सुष्मा फुयाल र १५ वर्षीय रञ्जित सापकोटा स्थानीय तोरण कार्कीको पोखरीमा ११ गते मृत अवस्थामा फेला परेका थिए ।

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा छोराछोरीको अज्ञात पक्षबाट रहस्यमय हत्या भएको बताउँदै पीडित पक्षले अझै न्याय पाउन नसकेकोमा आश्चर्यसमेत व्यक्त गरेका छन् ।

छोराछोरीको रहस्यमय हत्यापछि सम्बन्धित निकायमा गई पटकपटक न्याय खोज्दा पनि न्याय नपाएको मृतक प्रदीप र सुष्माका बावु चेतनाथ फुयालले बताए ।

घटना भएको दुई वर्षपुग्न लाग्दा समेत सरकारले घटनाको ठोस निर्णय नदिँदा आफूहरू अझ बढी पीडित भएको र न्याय पाउने आशा समेत हराएको पीडित पक्षको गुनासो छ ।

घरको कान्छो छोरो रञ्जित गुमाएका रवीन्द्र सापकोटाले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले न्याय दिलाउन पहल गर्ने बताए पनि आफूहरूले न्याय नपाएको बताए ।

पीडित परिवारलाई न्याय दिलाउनका लागि गाउँपालिकाको तर्फबाट माथिल्लो निकायमा पटकपटक जानकारी र ध्यानाकर्षण गराएको भएपनि पीडित परिवारलाई न्याय दिलाउन नसकेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए ।

तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको छानबिन गरी बालबालिकाको हत्या नभई पानीमा डुबेर मृत्यु भएको जानकारी दिएको पीडित रवीन्द्र सापकोटाले बताए ।

बालबालिकाको शरीर पानीमा ढाडिएर फुलेको तर पेटमा पानी नभएको, तीनै जनाको हात छातीमा रहेको, खुट्टा खुम्चिएको, चप्पल नफुक्लेको कारण उनीहरूको हत्या भएको दावी पीडित रवीन्द्रको छ ।

घटनाको मिसिलको आधारमा ६५ जनाको कल डिटेलसहित सोधपुछ, २-३ ओटा लेखापढी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले बताए ।

घटनाको अनुसन्धान गर्न तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्य नेतृत्वको संयुक्त टोली खटिए पनि प्रमाण जुटाउन भने सकेको थिएन । शवको परीक्षण जिल्ला अस्पतालमा ०७४ असार १२ गते गरिएको थियो ।

अन्य

भिडियो