INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको अध्यक्ष पदमा डा. ईन्दिरा श्रेष्ठ चयन

इन्सेक कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले कार्यसमिति सदस्य डा. ईन्दिरा श्रेष्ठलाई इन्सेकको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

Dr Indira Shrestha

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उनले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा मङ्सिर ३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

‘त्रिभुवन विश्वविद्यालयको सह-प्राध्यापक श्रेष्ठले काठमाडौँ महानगरपालिकाका महिला उद्यमीहरूको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा त्रिविबाट विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । समाजसेवा तथा शिक्षा क्षेत्रका विभिन्न सामाजिक संस्थामा आबद्ध रही ग्रामीण तहका जनताको जीवनस्तर सुधार्न उहाँले योगदान गर्नुभएको छ ।’-जारी विज्ञप्तिमा भनिएको छ ।

‘त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, उच्च माध्यमिक शिक्षा पाठ्यक्रम विकास कमिटी सदस्यलगायत अनेकौँ संस्थामा आबद्ध उहाँ आफ्ना कार्यका कारण विभिन्न सम्मानबाट विभुषित तथा सम्मानित हुनुभएको छ । कामका सिलसिलामा विश्वका विभिन्न मुलुकहरूको भ्रमण गर्नुभएकी डा. श्रेष्ठ आफूले आर्जन गरेको ज्ञान अरुका लागि उपयोगी होस् भन्नेमा सचेत हुनुहुन्छ ।’-विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो