INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह हुँदै गरेको अवस्थामा बालिकाको उद्धार

मधुवन नपा–४ माचडका १७ वर्षीय प्रकाश परियार र सुर्खेत जिल्ला भेरीगङ्गा नपा–८ की १६ वर्षीया सोनम परियारबीच मङ्सिर २ गते हुँदै गरेको बालविवाहलाई प्रहरीले रोक लगाई बालिकाको उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालाय ढोढरीबाट इन्स्पेक्टर सुजितकुमार ओझाको नेतृत्वमा गएको प्रहरीको टोलीले हुँदै गरेको बालविवाहमाथि हस्तक्षेप गरेर रोक लगाई बालिकाको उद्धार गरेको हो ।

बालविवाह हुँदै गरेको सूचना पाए लगत्तै तत्काल प्रहरी परिचालन गरी बालविवाह रोकिएको इन्स्पेक्टर सुजितकुमार ओझाले बताए । विवाह मण्डपबाट बालिकालाई उद्धार गरी अभिभावकलाई बोलाई बुझाएको पनि इन्स्पेक्टर ओझाले बताए ।

उक्त बालविवाह गर्न र गराउन खोज्ने पक्षलाई भने प्रहरीले कानुनी कारवाही प्रक्रियामा ल्याएको छैन । यस विषयमा इन्स्पेक्टर ओझाले हुँदै गरेको बालविवाह रोक्नु नै महत्वपूर्ण भएको बताउँदै यदि बालविवाह सम्पन्न भइसकेको अवस्था भए कानुनी कारवाही अगाडि बढ्नेमा कसैले रोक्न नसक्ने बताए ।

सो घटना पुनः दोहोरिए भने तत्कालै कानुनी कारवाही अगाडि बढाउने पनि इन्स्पेक्टर ओझाले बताए ।

अन्य

भिडियो