बुढीनन्दा नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरूलाई राम्रो शिक्षा लालनपालन र पढाइदिने भन्दै काठमाडौँ लैजान लागिएका १० जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय बाजुराले कात्तिक ३० गते उद्धार गरेको छ ।
कात्तिक ३० गते बिहान सदरमुकाम मार्तडीको पाँणी होटलबाट बालबालिको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी उद्धवसिंह भाटले जानकारी दिएका छन् । बाजुराबाट बालबालिका जम्मा गरी काठमाडौँ लैजान लागेको आरोपमा बुढीनन्दा नगरपालिका–८ का विरबहादुर ल्वाहारलाई प्रहरीले कात्तिक ३० गते नै गिरफ्तार गरेको छ ।
प्रहरीले बालबालिका र ल्वाहारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा जिल्लाका कुनै पनि सरकारी निकायहरूबाट अनुमति नलिई विना जानकारी बालबालिकालाई काठमाडौँ लैजान खोजिएकोले बालबालिकालाई अभिभावकहरूको जिम्मा लगाएको एसपी भाटले जानकारी दिए ।
लुहारले भने सबै बालबालिकाका अभिभावकको अनुमति र उनीहरू अध्ययन गर्ने विद्यालयबाट सर्टिफिकेट र वडाको सिफारिसका साथ बालबालिकालाई काठमाडौँ लैजान लागेको प्रतिक्रिया दिए ।
आरोपितले पीडित बालबालिकालाई काठमाडौँमा पढाउन लैजाने भन्दै प्रति बालबालिकाका अभिभावकबाट बाजुरादेखि काठमाडौँसम्मको भाडासमेत लिएको प्रहरीले जनायो ।
बालबालिका ल्याएर सदरमुकाम मार्तडी आएको थाहा पाएपछि अधिकारकर्मी गोरखबहादुर सार्कीले प्रहरीलाई जानकारी गराएका थिए ।
पछिल्लो समयमा बालबालिकाहरू बेचबिचनमा पर्ने खतरा बढेपछि सरकारले बालबालिकालाई एक जिल्लाबाट अर्को ठाउँमा लैजान विधि र प्रक्रिया पुर्याउनु पर्ने व्यवस्था गरेको छ ।