INSEC Online

📅 २०८३ जेष्ठ २१

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ भदौ २८ गते एक बधाई वक्तव्य जारी गरी अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । बधाई वक्तव्यमा भनिएको छ “जेनजी आन्दोलनमार्फत अभिव्यक्त नवयुवा पुस्ताको सुशासनप्रतिको आकाङ्क्षाको सम्मानस्वरूप प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । ”

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित वक्तव्यमा अब गठन हुने मन्त्रिपरिषद्ले लोकतन्त्र र कानुनको शासनलाई अझ उन्नत बनाएर जीवन उत्सर्ग गर्ने नवयुवाले देखाएको पथमा देशलाई अघि बढाउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ । देशव्यापी भएका प्रदर्शन र झडपका कारण आमनागरिकले ठूलो जनधनको क्षति व्यहोर्नु परेको यो पीडादायी परिवेशमा हामीले नेपालको संविधानको संरक्षण गर्ने राष्ट्रपतिको प्रमुख कर्तव्य अन्तर्गत यस मन्त्रिपरिषद्लाई प्रदान गरिएको ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य दायित्व सफलतापूर्वक सम्पन्न हुन विश्वास वक्तव्यमा गरिएको छ । “शान्ति–सुरक्षा र मानव अधिकारमाथि उत्पन्न चुनौतीलाई परास्त गरी कानुन बहाल गराउने सुरक्षा संयन्त्र तथा असङ्गठित गैरराज्यबाट नागरिककको जिउधनको रक्षा गर्न सरकारलाई पूर्ण सफलता मिल्ने अपेक्षा गरेका छौँ” वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा अब गठन हुने मन्त्रिपरिषद्ले अवलिम्ब गर्नुपर्ने कार्यहरूका सम्बन्धमा निम्न बुँदामा सुझाव प्रदान गरेको छ ।

  • आन्दोलनका क्रममा भएका मृत्युसहित घाइते अवस्था र क्षतिको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष न्यायिक छानविन आयोग गठन गरिनु पर्दछ ।
  • आन्दोलनका क्रममा प्रभावित परिवारलाई उचित क्षतिपूर्ति, उपचार र न्याय प्राप्तीको प्रत्याभूति दिलाउने व्यवस्था गरिनु पर्दछ ।
  • आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा संलग्न व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउनुपर्छ । अपराध गर्ने कोही पनि कानुनी दायराभन्दा बाहिर हुँदैनन् भन्ने कुराको प्रत्याभूति आमजनमानसमा दिलाउनु पर्दछ ।
  • संविधानमा सुनिश्चित मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन तथा नागरिक अधिकारको निर्वाध प्रचलनको प्रत्याभूति गरिनु पर्दछ । खासगरी, सङ्क्रमणकाकालमा अराजक व्यक्ति, समूह वा राज्य संयन्त्रबाट हुनसक्ने मानव अधिकार, संविधान प्रदत्त लोकतान्त्रिक हक तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामााथिको ज्यादतीप्रति सरकार मुकदर्शक हुनु हुँदैन । नेपाल राष्ट्र प्रतिबद्ध रहँदै आएको अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिपालनामा कतै विचलन आउनु दिनु हुँदैन । साथै, मानव अधिकारकर्मी तथा नागरिक समाजको सुरक्षित गतिविधि सुनिश्चित गर्ने वातावरणको निर्माण हुनै पर्दछ ।
  • भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सरकारी संयन्त्रमा जवाफदेहितालाई मजबुत पार्ने प्रतिबद्धतालाई पहिलो दिनदेखि नै व्यवहारमैै दर्शाउनु पर्दछ । भ्रष्टाचारको छानविन तथा कारबाहीको जनाकाङ्क्षालाई निष्पक्ष, पूर्वाग्रहरहित, प्रभावकारी र विश्वसनीय प्रकृयाका विषयमा व्यापक विमर्श सुरु गर्दै राज्य शक्तिका आडमा भ्रष्टाचारको कसुरबाट उन्मुक्ति पाउँदै आएका राजनीतिक व्यक्ति तथा उच्च पदस्थ कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउने प्रबन्धको खाका प्रस्तुत गर्न सक्नु पर्दछ ।
  • देशमा शान्ति, सामाजिक सद्भाव र अमनचयन कायम गर्न सबै पक्षलाई संवाद र सहकार्यमा ल्याउन पहल गरिनु पर्दछ ।

इन्सेकले वक्तव्यमा अगाडि भनेको छ “नयाँ सरकार जनआकाङ्क्षाअनुसारको परिवर्तन र अधिकारको संरक्षणमा कर्तव्यनिष्ठ रहनेछ भन्ने विश्वासका साथ मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि निरन्तर निगरानी गरी रहने दायित्व पूरा गर्दै इन्सेकले आफ्नो परम्परा र कतव्र्य तथा तत्कालीन परिस्थिति र आवश्यकताअनुसार सरकारलाई नागरिक हकको संरक्षणका लागि सहयोग गर्ने वा सचेत तुल्याउँदै आलोचनात्मक भूमिका निर्वाह गर्ने दुबै कार्यलाई निरन्तर अघि बढाउनेछ ।”

अन्य

भिडियो