महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका- २ स्थित ट्राफिक प्रहरी कार्यालयमा ०८२ भदौ २६ गते पहिचान नखुलेको समूहले आगजनी गरेको छ।
महोत्तरी जिल्ला अदालतको पूर्व तर्फ रहेको ट्राफिक प्रहरी कार्यालयमा दिउँसो करिब १:३० बजे पेट्रोल छर्की आगजनी गरिएको हो । जेनजीको आन्दोलनका कारण प्रहरी आफ्नो सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमै रहेको अवस्थामा ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो।
आगजनीबाट कार्यालयमा रहेको एक थान कम्प्युटर, कुर्सी र टेबल जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको एसपी शर्माले बताउनुभयो।

