नेपालगञ्ज उपमहानगरपालिका— १० स्थित बाँके कारागारका कैदीबन्दीहरुले ०८२ भदाै २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाइ फायर तथा गोली चलाउँदा एक जना कैदीबन्दी घाइते भएका छन् ।
घाइते हुनेमा कैलाली जिल्ला घोडघोडी नगरपालिका—२ का ४४ वर्षीय उमेश बम रहेका छन् । उनको दायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
अरु कारगारबाट सबै कैदीबन्दी छुटे, हामी पनि छुट्न पाउनु पर्छ भन्ने माग गर्दै पुरुष कैदीबन्दी राखेको ब्लकबाट १०/१५ जना कैदीबन्दी बाहिर निस्किने क्रममा सुरक्षाकर्मीले रोक्न खोज्दा खाना बनाउने बलेको दाउरा र मट्टितेल छर्केर आगो लगाएको जेलर प्रकाश ढुंगानाले जानकारी दिनु भयो ।
३ सय ५० जना क्षमता रहेको बाँके कारागारमा हाल ७ सय ७० (६ सय ६९ पुरुष र एक महिला) कैदीबन्दीहरु रहेको जेलर ढुंगानाले बताउनु भयो ।
हाल कारागार सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयो ।