INSEC Online

📅 २०८३ जेष्ठ २१

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै ६ जना गिरफ्तार

निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै सुर्खेत प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । सुर्खेत बहुमुखी क्याम्पस भित्र बैठक गरिरहेका राजनीति दलका भातृ संगठनका व्यक्ति र होटेलमा पत्रकार सम्मेलन गर्ने जेनजी समूहका व्यक्तिलाई गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा  जुम्ला जिल्ला कनका सुन्दरी–५ का ३३ वर्षीय बद्री बोहोरा, कालिकोट जिल्ला पचालझरना–३ का १८ वर्षीय महेश कठायत, सुर्खेतको वीरेन्द्रनगर–८ का ३१ वर्षीय मोहन थापा, कालिकोट जिल्ला तिलागुफा–१ का २४ वर्षीय प्रेम बुढा, शुभकालिका–३ का २६ वर्षीय पुष्पराज शाही र पचालझरना–३ का १८ वर्षीय मिलन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । ‘दुई ओटै ठाउँका ६ जना मुख्य व्यक्तिहरुलाई निषेधाज्ञा उल्लङ्घन गरेकोले गिरफ्तार गरेका हौं,’ उहाँले भन्नुभयो, ‘अन्यलाई सम्झाई बुझाई घर पठाएका छौं ।‘

 त्यस्तै जेन–जी आन्दोलनबाट नयाँ परिस्थिति सिर्जना  भईसक्दा समेत केन्द्रमा अझै सरकार गठनको विषयमा धारणा सार्वजनिक गर्न भदौ २६ गते दिउँसो १२ बजे  वीरेन्द्रनगर–६ स्थित डी–नमस्ते होटेलमा पत्रकार सम्मेलन गरेको र शिक्षा क्याम्पसमा मानिसहरुको भेला गराई निषेधाज्ञाको उल्लङ्घन गरेपछि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

जेनजीका संयोजक भनिएका सुनिल शाहीले आयोजना गरेको  पत्रकार सम्मेलनमा  जेन–जी कर्णालीको नेतृत्व कसले लिने भन्ने विषयमा सुर्खेतमा विवाद भएको थियो । सुनिल शाहीको पक्षले राजासहितको एजेन्डा उठाएको विज्ञप्ति बाहिर ल्याएपछि सुवर्ण थापाको टोलीले प्रतिवाद गरेको थियो ।

अन्य

भिडियो