भ्रष्टाचार र समाजिक सञ्जाल विरुद्ध जेनजीका युवा विद्यार्थीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि भदौ २४ गते कञ्चनपुरमा प्रदर्शन भएको थियो ।
भदौ २४ गते बिहानैदेखि जेनजी आन्दोलनका क्रममा कञ्चनपुरका सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भीमदत्त नगरपालिका सहित दलका पार्टी कार्यालय, नेता, सांसद, मन्त्रीका घरदेखि निजी सम्पतीमा तोडफोड र आगजनी गरियो ।
नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा बिहानै आगजनी एवं तोडफोड गरेका आन्दोलनकारीले भीमदत्त नगरपालिकाको मुल गेटमा आगजनी गरी विरोध प्रर्दशन गरेका थिए । त्यसपछि छेउमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा यो कार्यालय हुँदा भ्रष्टाचार रोकिनुको साटो झन बढिरहेको भन्दै ढुंङगामुढा सहित तोडफोड गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रशासन कार्यालय भित्रै पुगेर टायर बालेर आगजनी गर्दै विरोध गरेका हजारौँको संख्यामा रहेका आन्दोलनकारीले निर्वतमान गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका –८ गैलनदी घरमा पुगेर तोडफोड, घरमा आगजनी गरे लगत्तै भीमदत्त नगरपालिका –४ महेन्द्रनगरको घरमा पनि आगजनी गरेका थिए । भीमदत्त नगरपालिका –४ सरकारी वकिल कार्यालयमा आगजनी तोडफोड गरेका छन् ।
आन्दोलनकारीले सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलको घर, पूर्व सांसद निरुदेवी पालको घर, भीमदत्तका निर्वतमान मेयर सुरेन्द्र विष्टको घर, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालको घरमा तोडफोड एवं आगजनी गरेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री हिरा सार्कीको घर, भीमदत्त नगरका मेयर पदम बोेगटीकोे बजारको घर, भीमदत्त नगरपालिका–२ उल्टाखामको घर, भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखकको घर, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीको घर, बेदकोट नगरका मेयर भोजराज बोहराको घर, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको घर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घर, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास रावलकोे घर, प्रदेश सांसद माया पन्तको घर, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाकोे घरमा तोडफोड र आगजनी गरेका थिए । जनप्रतिनिधिहरुको घरमा लगाएको आगोबाट लाखौँको धनजन, भौतिक र नगद भएका छन्।
यसैगरी होटल ओपेरा, सिमएजी क्यासिनो, एनसेल सेन्टरमा समेत तोडफोड गरेका छन । जेनजीले कृष्णपुर, पुर्नवास नगरपालिका कार्यालय, शुक्लाफाँटा नगरका १२ ओटै वडा कार्यालय, कृष्णपुरका २, ५, ७ वडा कार्यालय, दुई मोटरसाईकल, दुई स्कुटी समेत जलाइदिएका छन् ।
कृष्णपुरका मेयर विष्णु ओझाको घरमा समेत तोडफोड आगजनी गर्नुका साथै घरबाट सुनचाँदनी, नगद समेत लुटेका छन् । दोधाराचाँदनीमा काँग्रेस पार्टी कार्यालय, बेलडाँडी गाँउपालिका पार्टी कार्यालयमा समेत आगजनी तोडफोड गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी गर्ने क्रममा प्रहरीले केही राउण्ड आँश्रु ग्याँस प्रहार गरेर भिड निन्त्रण गरेको थियो । कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले सुरक्षाकर्मी भन्दा निकै बढी हजारौँको संख्यामा आन्दोलनकारी एकसाथ प्रर्दशनमा उत्रिएपछि आन्दोलन नियन्त्रण गर्न नसकिएको बताउनुभयो ।
कञ्चनपुरका सुरक्षा प्रशासनले संयमितता अपनाएकाले मानवीय क्षति नभएको बताए । हिंसात्मक आन्दोलन भएपछि भदौ २५ गते बिहानैदेखि कञ्चनपुरमा नेपाली सेना परिचालन भएका छन । महेन्द्रनगर सहितका विभिन्न बजार, स्थानमा सेना सहितका सुरक्षा निकाय परिचालन भएपछि जिल्ला सुनसान भएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले देशभर कफ्र्यु अन्र्तरगत जिल्लाका विभिन्न स्थान चोक, बजार क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरीकोे संयुक्त गस्ती परिचालन गरिएको बताए । ‘अहिले जिल्लाभरी संयुक्त रुपमै परिचालन भएका छौँ, ‘प्रवक्ता बोहराले भने, ‘आवश्यक थप स्थानमा पनि परिचालन हुन्छौँ, कफ्र्यु भएकाले अति आवश्यकीय काम बाहेक बाहिर ननिस्किनु ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भदौ २५ बिहान ११ बजेदेखि नै निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो राजनीतिक परिस्थिति पछि कञ्चनपुरका शिक्षणसंस्था, उद्योग, व्यवसाय यातायात, व्यवसायी क्षेत्र ठप्प भएका छन् ।