मधेस प्रदेशका जिल्लामा रहेका कारागारहरुबाट कैदी बन्दीहरुले कारागारमा तोडफोड र आगजनी गरी भागेका छन् । जेनजी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका छोपि कारागारका कैदीबन्दी भागेका हुन् ।
मधेस प्रदेशका सप्तरी, महोत्तरी, रौतहट र पर्सा जिल्ला कारागारबाट कैदी बन्दी भागेका छन् । ती कारागारहरुबाट १ हजार ४९ जना कैदी बन्दी भागेकोमा ७० जना कैदी बन्दीलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको इन्सेक प्रतिनिधिहरुले जानकारी गराउनु भएको छ ।
महोत्तरीबाट ममता विश्वकर्माका अनुसार जिल्ला सदरमुकाम जलेश्वर कारागारबाट ५ सय ७७ जना कैदी बन्दी रहेकोमा ५ सय ७६ जना कैदीबन्दीहरू भागेका छन् ।
कारागार बाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीहरूले भदौ २४ गते साँझ करिब ७ बजे संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि कारागारमा रहेका सबै कैदी बन्दी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनु भएको छ । घटना पश्चात थप घटना हुन नदिने उद्देश्यले जिल्लाभर अनिश्चित कालिन कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनु भएको छ । घटनापछि शान्ति सुरक्षालाई ध्यानमा राखी नेपाली सेना तैनाथ रहेको रिसालले जानकारि दिनु भएको छ ।
इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार राजविराज कारागारको “बी” बल्कमा कैदीबन्दीहरूले भदौ २५ गते बिहान आगो लगाई करिब २ सय ५ जना कैदी फरार भएका छन् ।सबै सुरक्षागार्ड बाहिर गएको मौका छोपि “बी” ब्लकको पछाडि पट्टि दक्षिण तर्फको पर्खालमा प्वाल पारि कैदीहरु भाग्ने प्रयास गरिरहेका थिए । घटनापछि तत्कालै नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले उद्धार तथा नियन्त्रणको काम सुरु गरेका छन् । हालसम्म फरार कैदीहरूमध्ये ३१ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनु भयो । सुरक्षा निकायको संयुक्त टोलीले नजिकका क्षेत्रहरूमा सघन चेकजाँच तथा खोजी कार्य जारी राखेको छ । पर्सा प्रतिनिधि तुलसी भण्डारीका अनुसार वीरगञ्ज कारागारबाट कैदी बन्दीहरु भाग्न खोज्दा प्रहरीको कारबाहीमा परि चार जना कैदी बन्दी घाइते भएका छन् । कारागारको पर्खालमा प्वालपारि भाग्न खोज्दा सुरक्षाकर्मीले गरेको हवाइ फायरिङ र लाठी चार्ज गरेको कारण ती कैदी घाइते भएको प्रमुख जिल्ला अधिकारी तोय नारायण सवेदीले बताउनु भएको छ । घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रमुख सुवेदीले जानकारी दिनु भयो ।
इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार गौर कारागारमा २ सय ९१ जना कैदी बन्दी रहेका थिए । जसमध्ये २ सय ६४ कैदी बन्दी भदौ २४ गते राति भागेका छन् भने २७ जना कैदी बन्दी पछि समातिहाल्छ भनि नभागेर कारागारमै बसेका छन् । भागेका मध्ये ३५ जनालाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको र हाल कारागारमा ६२ जना कैदीबन्दी मात्रै रहेको कारागार प्रमुख मनिष झाले जानकारी दिनु भयो ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहको अनुसार सर्लाही कारागारमा भदौ २४ गते बिहान कैदी बन्दीहरुले आगजनी गरी भाग्न खोजेपनि तीन ओटै सुरक्षा निकायले रोकेका छन् । आगजानी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । सो क्रममा प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेका थिए ।



