इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार, झुम्काको भदौ २५ गते अनुगमन गरेको छ ।
जेनजी पुस्ताले चलाएको आन्दोलनमा मौका छोपी ०८२ भदौ २४ गते राति झुम्का कारागारबाट कैदीबन्दी तथा थुनुवा बाहिरिएपछि इन्सेकले क्षेत्रीय कारागारको अनुगमन गरेको हो ।
इन्सेक अनुगमनका क्रममा कारागारका जेलर सुवास लामिछानेले जेनजी आन्दोलनका आडमा भदौ २४ गते साँझ ५ बजेपछि कारागारमा बाहिरबाट आएकाहरू र कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाले हुलहुज्ज गर्दै कारागारमा आगो लगाउने धम्की दिएपछि थप क्षति हुन कारागारको गेट खोली दिएपछि १ हजार ५ सय ७२ जना कैदीबन्दी बाहिरिएको जेलर सुवास लामिछानेले बताउनु भयो । उहाँले सुरक्षाकर्मीले फायर खोल्दा थप धनजनको क्षति हुने देखिएकाले कैदीबन्दी तथा थुनुवालाई बाहिर निस्कन दिएको बताउनु भयो ।
कारागारमा रहेका दुई ओटा ब्लकमध्ये २ सय २७ जना बाहेक एकसाथ १ हजार ५ पाँच ७२ जना कैदीबन्दी भागेका थिए । भदौ २३ गते कारागारमा १ हजार ७ सय ९९ जना कैदी बन्दी रहेकोमा कारागारका १ हजार ५ सय ७२ जना कैदी बन्दी फरार भएका हुन् ।
कैदीबन्दीको आन्दोलनको क्रममा बल प्रयोग गरेको खण्डमा मानवीय र भौतिक क्षति हुने देखिएकोले केही भागेको र केहीलाई भगाइएको जेलर लामिछानेले इन्सेक अनुगमन टोलीलाई बताउनु भयो ।
झुम्का कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवालाई फेरि पनि ल्याउन सक्ने तर मानवीय र भौतिक क्षतिको पूरण नहुने देखिएकाले केहीलाई नेपाली सेनाले फोटो खिचेर राख्दै सेना कै रोहवरमा केही कैदीबन्दी तथा थुनुवालाई छोडिएको जेलर लामिछानेले अनुगमन टोलीलाई बताउनु भयो ।
कारागारबाट भदौ २४ गते राति भागेकामध्ये भदौ १३ जना बाटोबाटै आँफै फर्किएर आएको जेलर लामिछानेले बताउनु भयो ।
कारागारमा १ हजार ७ सय ४४ जना नेपाली र भारतीयसहित विदेशी ६५ जना रहेकोमा भदौ २४ गते राति सबै भारतीय कैदीबन्दीसहित १ हजार ५ सय ७२ जना फरार भएका थिए ।
कारागारको ए ब्लकका सात जना र बी क्लकका ६ जना गरी १३ जना भदौ २५ गते आँफै कारागारमा फर्किएर आएका छन् ।
इन्सेक कोशी प्रदेश प्रमुख मनोहरकुमार पोखरेल, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवले क्षेत्रीय कारागार झुम्कासहित विभिन्न सरकारी कार्यालय तथा निकायमा भएको आगजनीको अनुगमन गर्नु भएको हो ।
इन्सेकको अनुुगमन टोलीले इलाका प्रहरी इटहरी कार्यालय, इलाका प्रहरी कार्यालय, पकली, राजश्व अनुसन्धान कार्यालय, इटहरी, क्षेत्रीय ट्राफिक कार्यालय, इटहरीलगायतको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सरकारी भौतिक संरचनासहित व्यक्तिगत र निजी सवारी साधनमा समेत आगजनी गरिएको पाइएको छ ।





अनुगमनका क्रममा देखिएको दृश्य



