इन्सेक काभ्रे प्रतिनिधि सुमित्रा आचार्यका अनुसार जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले बनेपा नगरपालिका–७ मा रहेको नेकपा (एमाले) को पार्टी कार्यालय, बनेपा नगरपालिका–११ मा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । आगजनी तथा तोडफोडका क्रममा पाँचखाल नगरपालिकाका १७ वर्षीय रिजन तामाङको सिसाले खुट्टा काटेर घाइते भएकोमा बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार गरिएको छ ।
इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय चितवनमा आगजनी गरेका छन् । उनीहरूले दिउँसो निषेधाज्ञाकै बीच आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले मालपोत कार्यालय, आन्तरिक राजश्व कार्यालय, भरतपुर महानगरपालिकाको कार्यालय, जिल्ला समन्वय समिति, यातायात कार्यालयमा समेत आगजनी एवम् तोडफोड गरेका छन् ।








