INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा जेनजी प्रदर्शनकारीहरुद्वारा पार्टी कार्यालय, सरकारी कार्यालयहरु, सवारी साधनमा तोडफोड तथा आजगनी

इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी का अनुसार जेनजी प्रदर्शनकारीहरुद्वारा भदौ २४ गते रुपन्देहीका विभिन्न स्थानमा तोडफोड गरेका छन् ।

बुटवलमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

त्यस्तै प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरी विभिन्न नारावाजी गरेका छन् । प्रदर्शनकारीहरु देवदह नगरपालिकाको कार्यालय पनि घेराउ गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडी घेरा गरी नारावाजी गरेका छन् ।

इलाका प्रहरी कार्यालय कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका अनुसार प्रदर्शनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयहरु, नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय लगायतका कार्यालयहरुलाई घेरामा हाली तोडफोड गरेका बताउनुभयो । प्रहरीले संयमता अपनाएर काम गरिरहेकोले कुनै अप्रिय घटना नभएको बताउनुभयो ।

इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बि.सी का अनुसार जेनजी प्रदर्शनकारीहरुद्धारा कपिलवस्तुका विभिन्न स्थानमा तोडफोड गरेका छन् । तौलिहवामा रहेको नेकपा एमालेको कार्यालय, नेपाली काँग्रेसको कार्यालय तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले पूर्व मन्त्री दिप कुमार उपाध्यायको घरमा तोडफोड गरेको र तोडफोडबाट घरमा घरमा क्षति पुगेको मानवअधिकारकर्मी राम दयाल ठाकुरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रितेन्द्र कुमार सिंहका अनुसार जिल्लामा राजनीतिक दलका कार्यालयहरु, मालपोत र नापीको कार्यालयहरुमा क्षति पु¥याएको र मानववीय क्षति नभएको बताउनुभयो ।

इन्सेक बाँके प्रतिनिधि धु्रबराज शर्माका अनुसार प्रदर्शनकारीहरुले नेपालगञ्ज उपमहानगरपालिका स्थित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, नापी शाखा, नेपालगञ्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायत सबै सरकारी कार्यालयहरुमा आगजनी तथा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले सडकका चोक चोकमा टायर बाल्दै नेपालगञ्ज उपमहानगरपालिका कार्यालयदेखि प्रर्दशन शुरु भएको प्रदर्शनले पुष्पलाल चोक, विपी चोक, धम्वोझी चोक, पुष्पलाल चोक पूर्ण रुपमा भत्काउदै, चोक–चोकमा रहेका प्रहरी बिटहरु तोडफोड र आगजनी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर अन्य सरकारी कार्यालयमा पुगेका थिए । जिल्ला प्रशासन कार्यालयको गेटमा टायर, दाउरा बालेर सरकारी कागजातहरु, फर्निचर सामग्री आगजनी गरेका थिए । सरकारी भवन तोडफोडका साथै सम्पूर्ण सरकारी कागजात जलाइएका थिए ।

प्रदर्शनकारीहरुले मालपोत कार्यालय, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, नापी शाखा, आन्तरिक राजश्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका कार्यालय समेतबाट आगोको धुवाँ र ज्वाला देखिएको थियो ।

इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा भदौ २४ गते जारी सूचनामा साँझ ६ बजेदेखि अर्को आदेश नहुँदासम्म आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा , बैठक, घेराउजस्ता कार्यमा रोक लगाएको उल्लेख छ । प्रशासनले प्रदेश राजधानी क्षेत्रको राप्ती गाउँपालिकास्थित प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय क्षेत्र र भालुवाङ बजार क्षेत्र पर्ने पश्चिममा गोपी नाला र पूर्वमा भालुवाङ पुल, घोराही उपमहानगरपापालिका क्षेत्रमा पश्चिममा झिगौरा चोक, दक्षिणमा प्रहरी वोडिङ स्कुलदेखि नजिकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कुलसम्म र उत्तरमा फुर्सेखाली, ढोरेनी स्कुलदेखि सेवार खोला पुलसम्म, तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पूर्व हात्तिखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिणमा एयरपोर्ट तथा लमही नगरपालिका क्षेत्रमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुलन र दक्षिणमा कोलही पुलसम्म निशेधित क्षेत्र घोषणा गरिएको छ ।

जेनजी प्रदर्शनकारीहरुले भदौ २४ गते नेकपा एमालेका दाङ घोराही र तुलसीपुरका दुई ओटा कार्यालय, नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय घोराही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय घोराहीमा तोडफोड र आगजनी गरेका छन् । यस्तै घोराहीस्थित नापी कार्यालय, घोराही उपमहानगरपालिका कार्यालय, घोराही–१५ को वडा कार्यालय, तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय तथा आन्तरिक राजश्व कार्यालयमा आगजनी र तोडफोड गरी क्षति पु¥याएका छन् । यस्तै लुम्विनी प्रदेशसभा सदस्य राजु खनालको घोराहीस्थित घरमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।

दाङको तुलसीपुर कारागारबाट १ सय २४ कैदी/बन्दी भागेका छन् । भदौ २४ गते नख्खु कारागारबाट सबै कैदी/बन्दी निस्किएको भन्दै उनीहरुले कारागारको मुलगेट तोडफोड गरेर भागेको कारागार प्रशासक गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।

कैदीबन्दीहरुले गेट तोडफोड गरेर भाग्न थालेपछि नेपाल प्रहरीले हवाइ फायर गरे पनि उनीहरु भागेको सेजुवालले बताउनुभयो । कारागारको ख ब्लकमा राखिएका १ सय ७९ जनामध्ये ५५ जना मात्रै बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । ४ सय ६९ कैदीबन्दी रहेको तुलसीपुर कारागारमा अहिले ३ सय ४५ कैदीबन्दी रहेको प्रशासक सेजुवालले जानकारी दिनुभयो ।

इन्सेक अर्घाखाँची प्रतिनिधि कुल बहादुर नेपालीका अनुसार जिल्लाको सदरमुकाम सन्धिखर्कमा बिहान ७ बजेबाट शुरु भएको विरोध प्रदर्शन बेलुका ७ः३० बजेसम्म निरन्तर चलेको छ । विरोध प्रदर्शनको क्रममा कुनै मानवीय क्षति भएको छैन तर जिल्लास्तरमा रहेका सबै जिल्ला पार्टी कार्यालयहरु तोडफोड भएका छन् । तोडफोड भएका पार्टी कार्यालय मध्ये नेकपा एमाले पार्टी कार्यालयमा पटक पटक जुलुस गएर जलाएका छन् ।

जिल्ला समन्यव समितिको कार्यालय सामान्य तोडफोड भएको छ । सन्धिखर्क नगरपालिका कार्यालय र २ नं. वडा कार्यालय आंशिक रुपमा आगजनी भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरेका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भदौ २४ गते दिउँसो १ः३० बजे देखि राती १० बजेसम्मका लागि कङ्खर्यु जारी गरेको छ तर प्रदर्शनकारीले कङ्खर्युको वास्ता नगरी तोडफोड र आगजनी सहितको विरोध प्रदर्शन गरी रहेका छन् । अर्घाखाँची कारागार आक्रमण गर्न गएको प्रदर्शनकारीको टोलीलाई प्रहरीले २ राउण्ड हवाई फायर गरेर प्रदर्शनकारीलाई हटाएको थियो ।

इन्सेक प्युठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार युवा प्रदर्शनकारीहरुले प्युठान नगरपालिका – ४ बिजुवारमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालय र प्युठान नगरपालिका –४ जुम्म्रीमा रहेको नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय तोडफोड तथा आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय प्युठानले सम्भावित जोखिमलाई कम गर्न प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै प्युठान जिल्लाका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, प्युठानले ०८२ भदौ २४ गते अपरान्ह ४ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालद्वारा जारी कफ्र्यु आदेश लागू भएको क्षेत्रमा कुनै प्रकारका भेला, जुलुस, अनसन, धर्ना, घेराउ, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको समेत आदेशमा उल्लेख छ ।

प्युठान नगरपालिकाको क्वाडी बेलुवा चोक देखि बाग्दुला पुल सम्मका सम्पूर्ण मुख्य बजारक्षेत्र , मित्रमणि चोक बिजुवार देखि प्युठान नगरपालिकाको कार्यालय सम्मको सम्पूर्ण भूभाग, खलंगा बजार क्षेत्रको सम्पूर्ण भूभागमा कफ्र्यु आदेश जारी गरिएको छ ।

इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालय र नेपाली काँग्रेस पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

Photo 2025-09-10 Banke (1)

Photo 2025-09-10 Banke (2)

Photo 2025-09-10 Banke (3)

Photo 2025-09-10 Banke (4)

Photo 2025-09-10 Banke (5)

Photo 2025-09-10 Banke (6)

Photo 2025-09-10 Banke (7)

Photo 2025-09-10 Banke (8)

Photo 2025-09-10 Banke (9)

अन्य

भिडियो