जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन ०८२ भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । ठूलो सङ्ख््यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
त्यसै गरी ललितपुरको मन्त्री क्वार्टरमा आगजनी गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका छन् ।
त्यसै गरी प्रहरी प्रभाग बालकुमारीमा पनि आगजनी भएको छ ।
प्रदर्शनकारीहरुले बालकुमारीस्थित प्रहरी प्रभागमा आगजनी गरेका छन् । अहिले ठाउँ ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएको पाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।