INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गरः आयोग

पछिल्लो पुस्ताका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युुबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी नामक समूहको आह्वानमा ०८२ भदौ २३ गते काठमाडौँ लगायत देशका विभिन्न शहरहरुमा गरिएको प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको आयोगले भदौ २३ गते जारी विज्ञप्तीमा उल्लेख छ ।

यस किसिमको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लङ्घनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई प्रदर्शनको अनुगमन टोलीहरु गठन गरी अनुगमन गरेको आयोगले जनाएको छ । अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ, पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरुमा प्रदर्शन भएको जानकारीमा आएको आयोगले उल्लेख गरेको छ ।

काठमाडौँको माइतीघरबाट शुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरु संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएकोमा आयोगले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्न आयोगले आग्रह गरेको छ ।

अतः यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै सम्बोधन गर्न आयोगले भनेको छ । मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारलाई निर्देशन गरेको आयोगले जनाएको छ ।

साथै, आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न प्रदर्शनरत पक्षलाई समेत अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्य

भिडियो