भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते सुनसरीको इटहरीमा गरेको प्रर्दशनका क्रममा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको इन्सेक सुनसरी प्रतिनिधिसँगको कुराकानीमा पुष्टि गर्नु भएको छ ।
इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शन भइरहेको अवस्थामा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीको गोली प्रहारबाट घाइते भएका दुई जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको एसपी तिम्सिनाले बताउनु भयो । मृत्यु भएकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
इटहरीमा प्रहरीसँगको झडपमा घाइते चार जनाको जेनजीको विराट टिचिंग हस्पिटलमा उपचार भइरहेको छ ।
प्रहरीतर्फ सशस्त्र प्रहरीका चार र इटहरी नगर प्रहरी एक जना गरी पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली प्रहारबाट दुई जना प्रर्दशनकारीको मृत्यु भएलगत्तै ०८२ भदौ २३ गते साढे तीन बजेदेखि जिल्ला प्रशासन कार्यालय, सुनसरीले इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनु भयो ।
इटहरीमा उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा कर्फ्यु आदेश जारी छ ।
कर्फ्यु जारी गरिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने उल्लेख छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय,झापाले भदौ २३ गते राति साढे आठ बजेदेखि भदौ २४ गते विहान ५ बजेसम्मलाई कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोकुल कुमार अधिकारीद्वारा जारी भएको कर्फ्यु आदेश विर्तामोड नगरपालिकाभित्र रहनेछ।
कर्फ्यु पूर्वमा विर्तामोड बसपार्क प्रवेश गर्ने मोडसम्म, पश्चिममा रामचोक, उत्तरमा महानन्द चोक र दक्षिणमा सैनिक मोडसम्मका लागि जारी भएको छ ।