पोखराको पाताले छाँगो निजी क्षेत्रलाई दिने निर्णयसँग सम्बन्धित विषयमा ०८२ भदाै १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल विद्यार्थी सङ्घसँग आवद्ध नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार हुँदा घाइते भएका छन् ।
पोखरा महानगरपालिका-९ का बंशसिंह खवासले खुकुरी प्रहार गर्दा पौडेल घाइते भएका हुन् । प्रहरीले घटनामा संलग्न बंशसिंह खवासलाई गिरफ्तार गरेको छ । बैदाम प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार पौडेल र खवास दुवै घाइते छन्। ‘भाग्ने क्रममा खवासलाई सामान्य चोट लागेको छ। उपचारपछि थप विवरण सार्वजनिक हुन्छ,’ भट्टराईले जानकारी दिनुभयो।
पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिनेगरी २०७८ साउनमा सेती क्यानोन प्रालिसँग सम्झौता भएको थियो। सार्वजनिक निजी साझेदारी अन्तर्गत भएको उक्त सम्झौतापछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आईईई) गर्ने क्रममा ०८२ भदाै १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको थियो। सुनुवाइमा सहभागी स्थानीयवासी र विद्यार्थी नेताहरूले निर्णयविरुद्ध विरोध जनाएपछि विवाद भएको थियो।