INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा आमाको नामबाट नागरिकताका पाउन रिट दायर

पोखरा महानगरपालिका–९ का १७ वर्षीय रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनी उच्च अदालत पोखरामा कात्तिक ३० गते रिट दायर गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परार्मश र पहलमा गुरुङले जिल्ला प्रशासन कार्यलय कास्कीलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन् ।

गुरुङले ०७४ कात्तिक १२ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा बावु बेपत्ता भएका कारण आमाको नामबाट नागरिकता पाउँ भनी निवेदन दिएका थिए । तर, प्रशासकीय अधिकृत गुरुदत्त ढकालले बावुको नागरिकता नभएको भन्दै सङ्घीय कानुन बमोजिम हुने हुँदा सोही बमोजिम निवेदकलाई जानकारी गराइदिनु भनी निवेदन फिर्ता पठाइदिएका थिए ।

‘म जस्ता आमाको नामबाट नागरिकता लिन चाहाने नेपाली नागरिकहरूले आफ्नै देशमा आफ्नो पहिचानको अधिकारबाट वञ्चित भई राज्यविहीन अवस्थामा बाँच्न बाध्य भएको हुनाले आफ्नो मौलिक हक तथा अधिकार प्रचलन गराउन सम्मानित अदालत समक्ष उपस्थित भएको छु ।’–रिटमा उल्लेख छ ।

नेपालको संविधानको धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हुँदाका बखत निजको बावु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने स्पष्ट व्यवस्था रहेको छ ।

नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बावु आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ ।

‘मलाई सम्मानित अदालतको ढोकासम्म आउन इन्सेकले परामर्श दिई महत्वपूर्ण सहयोग गरेको व्यहोरा अवगत गराउन चाहान्छु ।’–दायर रिटमा लेखिएको छ ।

गुरुङको पक्षवाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णुप्रसाद लम्साल, अधिवक्ता कृष्णकुमार श्रेष्ठ र अधिवक्ता पुकार भण्डारीले बहस गर्नेछन् ।

अन्य

भिडियो