मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित ११ वर्षपछि गिरफ्तार भएका छन् । भेरीगंगा नगरपालिका–२, सत्तरी समझींघा घर भई कुबेत बस्दै आएका ३९ वर्षीय कृष्ण सुनारलाई ०८२ भदौ १० गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध २०७२ असार २७ गते सुर्खेतकी ३० वर्षीया महिलालाई विवाह गर्ने प्रलोभनमा भारतको हिमाचल प्रदेश, सिम्लामा लगेर बेचबिखन गरेको आरोप लागेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता भए पनि सुनार घटना पश्चात फरार रहेका थिए । पछि नेपाल प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोलले उनको नाममा रेड नोटिस जारी गरेको थियो ।
आरोपितलाई कुवेतबाट गिरफ्तार गरी भदौ १२ गते सुर्खेत ल्याइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । डिएसपी बुढथापाका अनुसार १२ गते नै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।