शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा लाभग्राही परिचय–पत्र नवीकरण गर्न सास्ती भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नु पर्ने व्यवस्था गरेपछि वडाहरुमा नवीकरण गर्न समस्या भएको हो ।
शैल्यशिखर नगरिपालका वडा नम्बर १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट बिना बायोमेट्रिक सम्भव छैन् । ‘समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिकहरु वडा कार्यालयमा पुगेर रित्तै फर्किनु परेको छ’ उहाँले भन्नुभयो । एकातिर दोहोरो वडाको जिम्मेवारी छ । अर्कोतिर इन्टरनेट छैन् । सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन् । तर, हाम्रो समस्या बारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ ।
सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का सचिव भुपेन्द्रप्रसाद जोशीले बताउनु भयो । वडामा राम्रो ल्यापटप कम्प्युटर छैन् । इन्टरनेट छैन् । सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ ।
मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ । ‘नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ । नेटवर्कका लागि बाहिर झुण्ड्याका दुई ओटा मोबाइल खसेर बिग्रिएको र कार्यालयमा कम्प्युटर, ल्यापटप र इन्टरनेट सेवा प्रभावकारी नहुँदा ज्येष्ठ नागरिकहरुले समस्या भोग्नुपरको उहाँले बताउनु भयो ।
“गत वर्षसम्म चिठ्ठी पत्र पठाउन मोवाइलमा रिचार्ज हालेर डाटा प्रयोग गर्थे,” सचिव जोशीले सुनाउनु भयो । मोवाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो । यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक सिस्टमबाट कसरी काम गर्न सक्छ । डाटा चलाउँदा ५ हजार रुपियाँ खर्च भएको थियो ।
वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्याउन सकेको छैन् । वडा नम्बर ४, ५, ७ र ८ मा डाटा समेत राम्रोसँग चल्दैन् । यहाँका नौ ओटा वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग काम गरिरहेको छैन् ।
वडा नम्बर २ का सचिव मनोरथप्रसाद भट्टले इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताउनु भयो । “बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनु पर्ने अवस्था छ,” उहाँले भन्नुभयो, काम गरौँ भन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ ।
नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नम्बर ४, ५, ७ र ८ मा मोबाइल डाटा नै चल्दैन् । ‘अहिलेको समयमा इन्टरनेट बिना कुनै पनि काम सम्भव छैन् । वडाको काम प्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनु पर्छ, ।’ समयमै वायोमेट्रिक अपडेट गराउन सकिएन भने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने अवस्था आउने उहाँको भनाइ छ ।
शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडा सचिवहरुले इन्टरनेटको समस्या बारे पटकपटक कुरा उठाउनुभएको भए पनि हालसम्म समस्या समाधान गर्न नसकिएको र समस्या समाधानका लागि कार्यपालिका बैठकमा जानकारी गराउने बताउनु भयो ।
शैल्यशिखर नगरपालिकाकाका प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानको लागि आग्रह गरे पनि समाधान नभएका कारण सेवाग्राहीहरुले समस्या भोग्नुपरेको बताउनु भयो ।
बजेट अभावका कारण नगरपालिकाले सबै वडामा फाइबर नेटवर्क तान्न सक्ने अवस्था नरहेको र प्राइभेट इन्टरनेट जडान गर्दा काम प्रभावकारी नभएकोले इन्टरनेट सेवा प्रभावकारी बनाउन विकल्पको खोजिभइरहेको उहाँले बताउनु भयो ।