INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित र गैरदलितका लागि छुट्टा–छुट्टै खानेपानीका धारा

गाउँमा अहिले पनि जातीय विभेद झल्किने खानेपानीका संरचना देखिएका छन् । गाउँ घरमा दलित र गैरदलितका खानेपानीका धारा हुने गर्दछन् । यीनै दलित र गैरदलितका छुट्टा–छुट्टै खानेपानीका धारा संरचनाले जातीय विभेद कायम रहेको पुष्टि गर्दछ । यस्तै दृष्टान्तको रुपमा लिन सकिन्छ, चन्दननाथ नगरपालिका–६ छिनागाउँमा एउटै स्थानमा दुई ओटा खानेपानीका धारा छन् । तिनै दुई धारामा दलित र गैरदलित समुदायका व्यक्तिहरुले आ–आफ्ना धाराबाट खानेपानी भर्ने गर्दछन् । एकले अर्को समुदायको धारामा गएर पानी भर्न मिल्दैन ।

पुस्त‌ाैँ पहिले दलित समुदाय र गैरदलित समुदायका लागि धारा विभाजन गरिएको थियो । त्यही चलन अहिले पनि कायम नै छ । दलित र गैरदलित समुदायका व्यक्तिले आफ्नो तोकिएकै धारामा पानी भर्ने गर्दछन् । यस्तै चन्दननाथ नगरपालिका–७ मिचा गाउँमा यस्तै प्रकृतिका दुई ओटा खानेपानीका सार्वजनिक धारा छन् । त्यहाँ पनि दलित र गैरदलित समुदायका व्यक्तिहरुले आ—आफ्नो धारामा पानी भर्ने गर्दछन् । बाहिरबाट हेर्दा सबैलाई पानीको सुविधा बराबर दिएको जस्तो देखिन्छ । तर, त्यही पानीका धारामा दलित समुदायले अपमान सहनु परेको छ । धारामा पानी लिन जाँदा दलित समुदायका महिलाहरु अपमानित भएर फर्किने गरेका छन् । स्थानीय नानी सुनारले धारामा पुग्दा जातीय विभेद हुने गरेको बताउनु भयो । धारामा लुगा धोइरहेका बेला अन्य समुदायका व्यक्तिले हेँला र अपमानका शब्द प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । गाउँको सामाजिक क्रियाकलापमा दलित समुदायमाथि अपमान हुने गरेको स्थानीयले बताएका छन् । सामाजले अझै पनि दलित समुदायलाई हेँला र अपमानका रुपमा हेर्ने गरेको सुनारले बताउनु भयो ।

नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई छुवाछूत मुक्त घोषणा गरिसकेको छ । नेपालको संविधान २०७२ को धारा २४ ले जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, भेदभावजन्य प्रथा वा व्यवहारलाई निषेध गरेको छ । तर, पनि समाजमा जातका आधारमा गरिने विभेद जस्ताको त्यस्तै छ । धारामा व्यवस्थित भएमा सहज हुने महसुस गरेका दलित समुदायका लागि विभेदको खाडल बनेको छ । धारामा पहिला पुग्ने प्रायः क्षेत्री समुदायका महिलाहरू हुन्छन् । उनीहरु दलित समुदायका महिलाहरुलाई देखेमा अपमानका शब्दहरु प्रयोग गर्छन् । ती शब्दले मन भारी र अपमानित भएको महसुस हुने गरेको दलित समुदायका महिलाहरुले बताउने गरेका छन् । यता वडाध्यक्ष रवि थापाले सार्वजनिक धारामा जातीय विभेद नभएको दावी गर्नुभयो । ‘परम्परागत सोच भएकाहरुबाट विभेद भएको हुन सक्छ । तर अहिलेका युवाहरु पुस्ता र शिक्षित व्यक्तिबाट विभेद भएको छैन,’ उहाँले भन्नुभयो, ‘ जातीय विभेदको गुनासो वडासम्म आइपुगेको छैन ।’ सार्वजनिक धारामा जातीय विभेद भएको गुनासो आएमा कानुनी कारबाहीका लागि वडा सरकारले पहल गर्ने थापाको भनाइ छ ।

अन्य

भिडियो