जलेश्वर कारागारमा रहेका कैदी ६० वर्षीय राजकिशोर साहको ०८२ भदौ १ गते मृत्यु भएको छ । अचानक बेहोस भएका साहलाई साउन ३१ गते राति उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले बताउनु भयो ।
शवको पोस्टमार्टम भदौ २ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
६ वर्षीया बालिकालाई ०७७ मङ्सिर ७ गते अपहरण गरी बलात्कार पश्चात हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजकिशोरलाई पाँच वर्षपछि ०८२ असार १५ गते गिरफ्तार गरेको थियो । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा गिरफ्तार भएका साहका छोरा २६ वर्षीय अरुण कुमार साह कारागारमै छन् ।
हत्यापछि बालिकाको शव लुकाउन बुवा साहले छोरालाई सहयोग गरेको आरोप थियो । सोही घटनामा संलग्न साहसँगै गिरफ्तारीमा परेकी उनकी पत्नी ५१ वर्षीया सुशिला देवी साह सिन्धुली जिल्ला कारागारमा रहेको प्रहरीले जनाएको छ ।