INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछापमा मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच छलफल

रामेछाप जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच कात्तिक २८ गते छलफल भएको छ ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको हो ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालयका भार्गव काफ्ले र प्रदेश ३ कार्यालयका गणेश भण्डारीको समेत उपस्थितिमा जिल्लाको मानव अधिकारका बारेमा छलफल भएको हो ।

कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाई र इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले जिल्लामा अहिलेसम्म संञ्जालले गरेका महत्वपुर्ण कामका बारेमा जानकारी गराएका थिए ।

उनीहरूले जिल्लाको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र भूकम्पपछिको पुनर्निर्माणका सवाललगायत समसामयिक समयमा सरोकारवालाबिच छलफल गरी सरोकारवाला निकायलाई खबरदारी गर्ने काम सञ्जालले गरेको बताए ।

कार्यक्रममा सहभागी कानुन व्यवसायीहरू, पत्रकारलगायतले जिल्लामा घटेका विभिन्न घटनाहरूबाट पीडितहरूले उपयुक्त न्याय नपाउँदा न्यायिक निकायप्रति विश्वसनीयता कम हुँदै गएको बताएका थिए ।

जिल्लामा घटेका घटनालाई लिएर पीडितहरूले आन्दोलन नै गर्दा पनि सम्बन्धित निकायले प्रभावकारी ढङ्गले काम गर्न नसक्दा समस्या भएको सहभागिहरूको भनाई थियो ।

कार्यक्रममा बोल्दै इन्सेकका केन्द्रीय प्रतिनिधि काफ्ले र प्रदेश तीनका प्रतिनिधि भण्डारीले मानव अधिकार संरक्षण सञ्जालले मानव अधिकारका सवालमा गरेको काम प्रभावकारी भएको भन्दै यो फोरमलाई अझ प्रभावकारी बनाएर निरन्तरता दिन आग्रह गरे ।

उनीहरूले अब प्रदेश र केन्द्रीय स्तरमा पनि यस्तो सञ्जाल बनाएर सहकार्य गरी मानव अधिकारका सवालमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।

यस अघि इन्सेकको टोलीले रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, डिएसपी अमरेन्द्रबहादुर सिंहलगायतलाई भेटी जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा छलफल गरेको थियो ।

अन्य

भिडियो