सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम गाउँका ज्येष्ठ नागरिकहरुले निकै सास्ती व्यहोर्नु परेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन सदरमुकाम आउनुपर्ने बाध्यताले ज्येष्ठ नागरिकहरुलाई सास्ती भएको हो ।
जुगल गाउँपालिका—४ पाङ्गताङ्गकी ८४ वर्षीया अम्बिका लामिछानेलाई घरबाट तीन घण्टा डोकोमा आफन्तले बोकेर कात्तिके बजारसम्म पुर्याए, उनलाई बसमा चढाएर राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम चौतारा लगे, तर राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउने ठाउँको सर्भर बिग्रिएका कारण दिनभर सदरमुकाम बस्नुपर्ने बाध्यता भयो ।
त्यसैगरी इन्द्रावती गाउँपालिका—७ की ८६ वर्षीया स्वस्तीका सापकोटाले पनि राष्ट्रिय परिचयपत्रका लागि त्यस्तै सास्ती व्यहोर्नु पर्यो ।
त्यस्तै पाँचपोखरी थाम्पाल गाउँपालिाका—२ बरुवाबाट गाडी रिजर्भ गरी राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम चौतारा पुगेकी ८० वर्षीय सर्किनी तामाङ एक दिनभरी बस्नु परेको दुःखेसो सुनाउनुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम आउदा ज्येष्ठ नागरिकहरुले पाएको सास्ती मध्ये यी प्रतिनिधि घटना हुन् । सामाजिक सुरक्षा भत्ता लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्लाभरका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।
कहिले बिजुली जाने त कहिले सर्भरको समस्या भएका कारणले सेवाग्राहीहरुलाई समयमा सेवा प्रवाह गर्न गाह्रो भएको सहायक प्रमखु जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

थला परेर ओछ्यानबाट उठ्न समेत नसक्ने भएका इन्द्रावती गाउँपालिका—४ का ७८ वर्षीय खेचरनाथ भट्टराई राष्ट्रिय परिचयपत्र बनाउनबाट बञ्चित भएका छन् । उहाँ सदरमुकाम चौतारा आउन नसक्ने अवस्थामा हुनुहुन्छ । रोगले थलिएर उठ्नै नसक्ने हामी जस्ताका लागि भत्ताको व्यवस्था कसरी हुन्छ ? खेचरनाथको जिज्ञासा छ ।
घरबाट सदरमुकाम चौतारासम्म आउन नसक्ने ज्येष्ठ नागरिकहरुलाई कसरी राष्ट्रिय परिचय—पत्रको व्यवस्था गर्ने भन्ने विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो ।