तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहारको प्रयास गरेको कसुरमा जिल्ला अदालतले मुख्य योजनाकार सन्तोष गिरीसहित चार जनालाई कैद र जरिबानाको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीस दीपक ढकालको ०८२ भदौ २ गतेको इजलासले गिरीलाई संगठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानामा दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबाना तथा अभद्र व्यवहारतर्फ थप एक महिना कैद र १० हजार रुपियाँ जरिबानासहितको फैसला गरेको सूचना अधिकारी उज्जल रावलले जानकारी दिनुभयो । सोही मुद्दामा इन्द्रबहादुर विक, रोहित राजपुत र भरत पाण्डेलाई ज्यान मार्ने उद्योगतर्फ दुई वर्ष कैद तथा जनही २०–२० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको रावलले बताउनु भयो । विक, राजपुत र पाण्डेले इजाजत बिना हतियार चलाएको भन्दै थप दुई वर्ष कैद र जनही २० हजार रुपियाँ जरिबाना अदालतले तोकेको छ । राजन गिरीको मतियार रूपमा एक वर्ष १ महिना १५ दिन कैद र १० हजार रुपियाँ जरिबाना फैसला अदालतले गरेको छ । भरत भुल र सुरेन्द्र शाहीलाई भने एक वर्ष कैदको फैसला तोकिएको छ । तर राजन र भुलले कैद तोकिएको अवधि भुक्तान गरिसकेकाले रिहा भएका छन् । शाहीको कैद भुक्तान अवधि यही भदौ ७ गते पुग्दैछ । वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा १२ फागुन ०८० मा साँझ गोली प्रहार गरिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली प्रहार गरेका थिए ।
प्रहरीले ०८० फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दावी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई गिरफ्तार गरेर सार्वजनिक गरेको थियो । प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो । उनीहरु विरुद्ध अदालतमा २७ चैत २०८० मा मुद्दा दर्ता गरिएको थियो ।