खिजीदेम्बा गाउँपालिका–४ खिजीफलाटेस्थित इलाका प्रशासन कार्यालयमा ०८२ साउन दोस्रो सातायता प्रमुख नहुँदा खिजीदेम्बा गाउँपालिका र लिखु गाउँपालिकाका स्थानीय सरकारी सेवाबाट वञ्चित हुनु परेको छ । इलाका प्रशासनमा दुई सातायता प्रमुख नहुँदा स्थानीय नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा पाउन सकेका छैनन् ।
इलाका प्रशासनबाट खिजीदेम्बा गाउँपालिका र लिखु गाउँपालिका वडा नं. ६, ७, ८ र ९ का नागरिकलाई सेवा प्रदान हुँदै आएको छ । त्यहाँका स्थानीयलाई सरकारी सेवा लिन एक दिन लगाएर जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता छ । ०८२ साउन दोस्रो साता इलाका प्रशासन कार्यालयका प्रमुख पेशल विश्वकर्मा काज फिर्ता भएर जिल्ला प्रशासनमा आएसँगै कार्यालयको कामकाज ठप्प छ । इलाका प्रशासनको काम ठप्प भएपछि सो कार्यालयबाट प्रवाह हुने सरकारी सेवाबाट सेवाग्राही वञ्चित भएका छन् ।
नेपालको संविधान भाग–२ धारा–१० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । तर जिल्लाको खिजीदेम्बा र लिखु गाउँपालिकाका नागरिकलाई इलाका प्रमुख नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनु पर्ने अवस्था छ ।
जिल्ला सदरमुकाम पुग्न सहज रूपमा यातायातका साधन सहज रुपमा नपाउने भएकाले नागरिकता बनाउन जानु पर्दा निकै पैसा खर्च गरेर जानुपर्ने बाध्यता छ । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।
ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गृह मन्त्रालयबाट खटिएका नायब सुब्बा सुबित कुमार सुनुवारलाई अझै अधिकार प्रत्यायोजन नभएकाले नागरिकता लगायतका सेवा अवरुद्ध भएको बताउनु भयो । गृह मन्त्रालयमा पहल भइरहेकोले चाँडै खिजीफलाटेमा प्रमुख खटाएर सेवा नियमित गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भएको छ ।