INSEC Online

📅 २०८३ जेष्ठ २१

सदरमुकाममै एक महिनादेखि खानेपानीको अभाव

जिल्ला सदरमुकाम स्थित खाँडाचक्र नगरपालिका–१, मान्मा बजारमा एक महिनादेखि खानेपानीको चरम अभाव हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

यहाँ आउने चुखी खानेपानी आयोजनाका पाइपहरु पहिरोले बगाएपछि मान्मा बजारमा रहेका सरकारी तथा गैर सरकारी कार्यालय, होटल व्यवसायीदेखि स्थानीय नागरिकलाई खानेपानीको प्रत्यक्ष प्रभाव परेको हो ।

बर्खाको समयमा अविरल बर्षातले पहिरो आएर पाइप बगाउँदा पानीको अभाव झेल्नु परेको स्थानीय सारदा शाहीले बताउनु भयो । उहाँले खानेपानी उपभोक्ता समितिले मर्मतमा चासो नदेखाउँदा समस्या भएको उल्लेख गर्नुभयो । धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार भएको उहाँको भनाइ छ ।

मान्मा बजार क्षेत्रमा पिउने पानीको आपूर्तिका लागि स्थानीयहरु दुई किलोमिटर टाढाको गल्ली धाराबाट पानी ल्याउन बाध्य छन् । यस विषयमा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाहीले मान्म बजारमा खानेपानीको आपुर्ति गर्न खाँडाचक्र नगरपालिका-१ र खानेपानी उपभोक्ता समितिलाई निर्देशन दिएको बताउनु भयो ।

जिल्ला सदरमुकामको खानेपानी समस्याका विषयमा इन्सेकको अगुवाइमा पटक–पटक खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय र खानेपानी, सरसफाइ तथा उर्जा विकास कार्यालयमा ज्ञापनपत्र पेश गरिएपनि समस्याको दिर्घकालिन समाधान हुन सकेको छैन ।

अन्य

भिडियो