इटहरी उपमहानगरपालिका-५ का १७ वर्षीय अटिजम भएका बालकलाई अजिटम सेवा केन्द्रका कर्मचारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
इटहरी उपमहानगरपालिका-२ स्थित प्रेरणा केयर सेण्टर प्रालिमा ०८२ साउन १५ गते भर्ना गरिएका १७ वर्षीय बालकलाई साउन २३ गते केयर सेण्टरका कर्मचारीले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
अटिजम भएका बालबालिका अरु भन्दा फरक स्वभावको हुने र केयरिङका लागि अटिजम केयर सेण्टरमा भर्ना गरेको एक साता नबित्दै १७ वर्षीय छोरालाई केयर सेण्टरका कर्मचारीले निर्घात कुटपिट गरेको पीडित बालकका ४६ वर्षीय बाबु शेखरप्रसाद कोइरालाले बताउनु भयो ।
सुरक्षा र हेरचाहका लागि छोरालाई केयर सेण्टरमा भर्ना गराएको थिए । साउन २३ गते केयर सेण्टरबाट बाबुलाई सञ्चो नभएको भनि फोन आयो, केयर सेण्टरमा पुग्दा छोरालाई बाँधेर निर्घात कुटपिट गरी चोटैचोट बनाइएको रहेछ, पीडित बालकका बाबुले भन्नुभयो ।
छोरालाई बाँधेर कुटपिट गरेका कारण बाबु विष्टा र पिशावमा लतपतिएको अवस्थामा केयर सेण्टरमा राखिएको थियो, बालकका बाबु कोइरालाले भन्नुभयो ।
बाबुले फरक व्यवहार गरेका कारण केयर सेण्टरका महिला कर्मचारीले हेण्डकफ लगाएर राखेको र सामान्य बल मात्र प्रयोग गरेको केयर सेण्टरका सञ्चालक चुडामणि निरौलाले बताउनु भयो ।
पीडित पक्षले केयर सेण्टर र बालक कुटपिट गर्ने महिला कर्मचारीविरुद्ध साउन २५ गते इलाका प्रहरी कार्यालयमा इटहरीमा उजुरी दिएपनि दुवै पक्षबिच सोही दिन मिलापत्र भएको छ ।
इलाका प्रहरी कार्यालय, इटहरीमा भएको छलफलमा केयर सेण्टरले बालकको उपचार गर्ने सहमति गरेर माफी मागेपछि मिलापत्र गरिएको पीडित पक्षले जनाएको छ ।
कुटपिटबाट बालकको गोडा, ढाड, पाखुरा र तीघ्रामा निलडामसहितको चोट लागेको छ ।
घाइते बालकको इटहरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।