INSEC Online

📅 २०८३ जेष्ठ २१

कैलाली जिल्ला कारागार झडपः उपचारार्थ ४८ जना घइते कैदीबन्दी मध्ये २७ जना डिस्चार्ज

कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन २८ गते सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ । सुरक्षाका दृष्टिकोणले हाल डिस्चार्ज गरिएका कैदीबन्दीहरुलाई कैलाली जिल्ला कारागार नपठाई अस्पताल मै राखिएको छ ।

कारगार लैजाँदा भित्र पुनः उनीहरुमाथि आक्रमण हुन सक्ने सम्भावना रहेकाले अस्पतालले डिस्चार्ज गरेता पनि स्थानान्तरणका बारेमा छलफल भइरहेकोले डिस्चाज गरिएका कैदीबन्दीहरुलाई अस्पतालमै राखिएको कैलाली जिल्ला कारागारका जेलर जलन्धर भुषालले बताउनु भयो ।

उहाँले भन्नुभयो— ‘कारागार भित्रको अवस्था सामान्य भए पनि डिस्चार्ज भएका कैदीवन्दीहरुलाई तत्काल कैलाली जिल्ला कारागार मै पठाउन सुरक्षाका दृष्टिकोणबाट चुनौतीपूर्ण छ । पुनः झडप र आक्रमण हुन सक्छ । अस्पतालबाट डिस्चार्ज गरिएका कैदीबन्दीहरुको स्थानान्तरणको लागि सरोकारवाला निकाय र अभिभावकहरुसँग छलफल गरी विकल्प खोजिरहेका र्छौ । साउन २७ गते अस्पतालबाट डिस्चार्ज गरिएका तीन जना कैदीबन्दीहरुलाई भने कञ्चनपुर जिल्ला कारागार पठाएका छौँ । सुरक्षाका कारण हाल कैदीबन्दीहरुको सम्पूर्ण विवरण दिन नसकिने अवस्था पनि छैन् ।’

कैलाली जिल्ला कारागार भित्र कैदीबन्दीबिच झडप हुँदा एक जनाको मृत्यु र ४८ जना घाइते भएका थिए । गम्भीर घाइतेभएका तीन जनाको थप उपचारका लागि काठमाडौँ पठाइको थियो भने अन्य घाइते कैदीबन्दीहरुको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको थियो ।

झडपमा परी कारागार भित्रै मृत्युभएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीका परिवालाई प्रदेश सरकारले ५ लाख रुपियाँ राहत र मृतककी छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्ने सहमतिपश्चात पीडित परिवारले साउन २६ गते शव बुझेर साउन २७ गते दाहसस्कार गरेका थिए ।

घटनाको निश्पक्ष छानबिन गरी घटनामा संलग्नहरुलाई कारबाहीको मागराखि साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जिल्ला प्रशासन कार्यालयमा भएको मौखिक सहमतिका आधारमा शव बुझेर सदगत गरिएको मृतकका भाई बिजय चौधरीले बताउनु भयो ।

अन्य

भिडियो