हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि जनजीवन प्रभावित बन्दैगएको छ । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर र खेतीयोग्य जमीन बगाएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

बाढीका कारण विशेष गरी खोला किनारका बस्ती र खेतबारी, पुल, जलविद्युत आयोजना लगाएतमा ठुलो क्षेति भएको स्थानीय साजन थापाले बताउनु भयो । बाढीले घरहरु बगाएपछि स्थानीयहरु ज्यान जोगाउन भागेर अग्लो स्थालनतर्फ गएका छन् । ज्येष्ठ नागरिक, गर्भवति, सुत्केरी र बालबालिकाहरुले थप सास्ती खेप्नुपरको उहाँले बताउनु भयो ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले अहिलेसम्म बिच्छाया खोला किनारा नजिकका ८ / १० ओटा घरहरु र खोला किनारामा रहेकF खेतीयोग्य जमीन बगाएको सुन्नमा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘बिच्छायामा टेलिफोन समेत नलाग्ने भएकोले के ? कति ? क्षति भयो भनेर विवरण आइ सकेको छैन् । गाउँपालकाको टिमसँगै आफू पनि घटनास्थलतर्फ गइरहेको छु । बिच्छ्या खोलामा आएको बाढीले वडा नम्बर १, ३ र ५ मा क्षति पुर्याएको सूचना पाएको छु । तर, प्रभावित परिवार र खेतीयोग्य जमीन तथा अन्य सम्पत्तिको विस्तृत विवरण अझै संकलन हुन सकेको छैन् ।’
घटनापछि नेपाल प्रहरीको टोली उद्धार तथा अनुगमनका लागि प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
वर्षा अझै जारी रहेकाले थप बाढी र पहिरोको जोखिम बढ्नेभएकोले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्यायले बताउनु भयो । बाढीले स्थानीयका घरहरु बगाएको जानकारी पाएपछि उद्दार र सुरक्षाका लागि प्रहरी टोली घटनास्थल पठाइएको उहाँको भनाइ छ ।


