जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे पुनः झडप भएपछि एक जना कैदीको मत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
झडपमा परी धनगढी उपमहानगरपालिका—४ घर भई लागुऔषध मुद्दामा जिल्ला कारागार कैलालीमा थुनामा रहेका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ ।
झडपमा परी गम्भीर घाइते भएका भरत चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा लगिएको अवस्थामा मृत्यु भएको र कुटपिटबाट गम्भीर घाइतेभएका रवी चौधरी र जगदिश रानाको सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र ठुुलो संख्यामा प्रहरी परिचालन गरी सेती प्रादेशिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
यसअधि पनि जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला कारागार, कैलालीमा पछिल्लो समय कुटपिट, झडप र मृत्युसम्मका घटनाहरु निरन्तर रुपमा भइरहेका भए पनि कारागार सुरक्षा र व्यवस्थापन कार्यमा सम्बन्धित निकायहरुको ध्यान जान नसक्दा घटनाहरु बारम्बार भइरहेको कैदीबन्दीहरुका परिवारको गुनासो छ ।