टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० निवासी साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, टिकापुरका प्रमुख ३७ वर्षीय डम्मर विकलाई ०८२ साउन २१ गते सामाजिक सञ्जालमार्फत जातीय अपमानजनक स्टाटस लेखेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेको भन्दै कपिल केसीविरुद्ध पीडितले साउन २१ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको छ ।
टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेपछि कपिल केसी नामको फेकबुक आइडीबाट जातीय अपमान हुने शब्द प्रयोग गरी आफूमाथि विभेद गरिएकोले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको प्रमुख बिकले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा फेसबुक आइडीमा नाम भएको व्यक्तिको (कपिल केसी) नामक फेक आइडी ट्रेस गर्न साइबर ब्युरोमा पत्राचार गरी घटनाको अनुसन्धान भइरहेको टिकापुर इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
जातीय सद्भावमा आँच आउने किसिमका अभिव्यक्तिहरु कानुन विपरित हुने भएकोले यस्ता कार्यहरुमा संलग्नलाई कानुनी कारबाही गरिने डिएसपी बुढाथोकीको भनाइ छ ।