बुटवल उपमहानगरपालिकाले मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रीकल इन्जिनियरिङ क्षेत्रमा महिलाहरूको उपस्थिति कम भएपछि ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्तर्गत छात्राहरूका लागि निःशुल्क दुई वर्षे तालिम सुरुवात गरेको छ ।
बुटवलमा रहेको बुटवल टेक्निकल इन्स्टिच्यूट मार्फत बुटवल उपमहानगरपालिकाभित्र रहेका वा अन्य स्थानबाट समेत बुटवलमा आएर अध्ययन गर्न चाहने छात्राहरूका लागि ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अन्तर्गत दुई वर्षका लागि निःशुल्क अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेका अनुसार पहिलो चरणमा २० जना मेकानिकल र २० जना इलेक्ट्रीकल तर्फको प्रीडिप्लोमा तहको अध्ययनका लागि बिटिआईसँग सम्झौता गरी कार्यक्रम अगाडी बढाइएको छ ।
बुटवल टेक्निकल इन्स्टिच्यूटका प्रमुख मनकाजी कुमालका अनुसार कक्षा १० सम्म अध्ययन पूरा गरेका एसईई पास वा फेल जो कोहीले पनि यो कोर्ष अध्ययनका लागि आवेदन दिन सक्ने छन् । प्रीडिप्लोमा तहको यो अध्ययन पूरा गरेपछि जो कोही व्यक्तिले पनि रोजगार र स्वरोजगार हुने सम्भावना प्रवल भएको र यो विषय दुई वर्षसम्म प्रयोगात्मक रूपमा हुने भएको कारण सोही अनुसार अध्ययन पूरा गरेका विद्यार्थीले नेपाल विद्युत् प्राधिकरण सहितका अन्य विद्युत् कम्पनी, निजी क्षेत्र समेतमा रोजगार प्राप्त गर्ने सम्भावना रहने बताउनुभयो ।
सो कोर्षका लागि १६ वर्ष पूरा भई ३० वर्ष उमेर पुगेका महिला वा पुरुषले यो कोर्ष अध्ययनको लागि आवेदन दिन सक्ने छन् । पूर्ण शुल्कमा विद्यार्थीले २ वर्षको ४२ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने बुटवल उपमहानरपालिका भित्रका छात्रा वा अन्य जिल्लाबाट पनि आएका छात्राहरूले मेकानिकल तर्फ २० जना र इलेक्ट्रीकल तर्फ २० जना गरी कुल ४० जना छात्राले पूर्ण रूपमा निःशुल्क अध्ययन गर्न पाउने र जसका लागि बिटिआईले भर्ना आवेदन पनि खुला गरिसकेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
त्यस्तै प्रि–डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्यूटले जनाएको छ ।
दक्ष जनशक्ति अभाव र सीप सिक्न चाहनेहरूको सङ्ख्या धेरै भए पनि अहिलेका लागि ४० जना छात्राहरूलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेको र यसलाई नियमित रूपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने योजना पालिकाले बनाएको छ । उपप्रमुख सावित्रा देवी अर्यालले छात्राहरूको जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । नगरप्रमुख पाण्डेका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रूपमा अगाडि बढ्ने छ ।
छात्राहरूलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मद्दत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको बुटवल टेक्निकल इन्स्टिच्यूटलाई बुटवल उपमहानगरपालिका अन्तर्गत ल्याउने गरी काम समेत अगाडी बढाइएको छ ।
संस्थाको स्थायित्व र सुदृढीकरणका लागि नीति तथा ऐन निर्माण गरी प्राविधिक थप विषय समेत थप गरी व्यवस्थित बनाउने गरी काम अगाडी बढाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
डिप्लोमा तहको इन्जिनियरिङका विषयहरू र अटो भिलेजमा स्नातक तहको अध्यापन गराउने गरी काम अगाडी बढाइएको हो । बुटवल क्षेत्रमा प्राविधिक शिक्षालाई व्यवस्थित बनाएर प्राविधिक शिक्षाको हव बनाउने उद्देश्य अनुरूप बुटवल टेक्निकल इन्स्टिच्यूटलाई प्राविधिक शिक्षालय बनाउने अभियान सुरुवात गरिएको छ ।