आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनु पर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले जोड दिएका छन् ।

इन्सेक बैतडीले आयोजना गरेको सिमा क्षेत्रका मानव अधिकारका सवाल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले सो विषयमा जोड दिएका हुन् ।
“मानव अधिकारका क्षेत्रमा विगत देखि नै काम गर्दै आइरहेको इन्सेकले स्वास्थ्य समस्या, बेरोजगारी, जातीय तथा लैङ्गकि विभेद, सरकारी सेवा प्रवाहलगायतका सवालहरूलाई मुख्य प्राथमिकता दिनु पर्छ ।”- उनले भने-“यसपाली इन्सेक बैतडीले पहिलो प्रतिवेदन पानामा सामाजिक अधिकारलाई महत्व दिएको देख्दा खुसी लाग्यो ।”

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जिल्लामा देखिएको वैतानिक वकिलको समस्यालाई समाधान गर्न जिल्ला अदालतले आवश्यक पहल गर्न सुझाव दिएकी छिन् ।
मानव अधिकारको संरक्षणमा इन्सेकले खेलेको भूमिकाको प्रसंशा गर्दै अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले इन्सेकले गाउँमा लुकेका घटनाहरूलाई पनि बाहिर ल्याउनमा सहयोग गर्नु पर्ने बताइन् ।

गत जुलाईदेखि हालसम्म १७ ओटा मानव अधिकार उल्लंघनका घटनाहरु सङ्कलन गरिएको इन्सेक बैतडीका प्रतिनिधि नरी बडुले जनाएका छन् । जसमा बलात्कारका सात, दुर्व्यवहारका तीन, घरेलु हिंसा, कर्तव्य ज्यान र बहुबिवाहका दुई/दुई ओटा घटना छन् । त्यसैगरी मानव बेचविखनको एउटा घटना अभिलेख गरिएको छ ।
