INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक नहुँदा भिडियो एक्सरे सेवा ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक अभावले भिडियो एक्सरे सेवा ठप्प भएको छ । चिकित्सक नहुँदा एक्सरे सेवा ठप्प भएपछि उपचारका लागि आएका बिरामीहरू मारमा परेका हुन् ।

भिडियो एक्सरे गराउने रेडियोलोजिका चिकित्सक दुई हप्तादेखि प्रतिष्ठानमा बिना जानकारी अनुपस्थित भएकाले सेवा प्रभावित भएको हो ।
छोराको उपचारमा प्रतिष्ठानमा जानु भएका गुठिचौर गाउँपालिका–५ देपालगाउँका नन्दराम नेपालीले भिडियो एक्सरे सेवा उपलब्ध नभएको गुनासो गर्नुभयो ।

छोरालाई पेट दुख्ने समस्याले प्रतिष्ठान पुगे पनि भिडियो एक्सरे गर्ने चिकित्सक नहुँदा समस्या पहिचान नभएको उहाँको भनाइ छ । प्रतिष्ठानले डाक्टरको समस्या देखाउँदै भिडियो एक्सरे सेवा दिन नसकेको प्रतिक्रिया दिएको छ ।

प्रतिष्ठानमा दैनिक दर्जनौँ बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा हड्डी तथा आन्तरिक अङ्गको परीक्षणका लागि भिडियो एक्सरे अत्यावश्यक हुन्छ । तर भिडियो एक्सरे सेवा अबरुद्व हुँदा समस्या भएको छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डबल बहादुर धामीले रेडियोलोजी डाक्टरको खोजी भइरहेको बताउनु भयो । काम गरिरहनु भएका डाक्टर सम्पर्क विहीन भएकाले नयाँ डाक्टरको खोजिमा रहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो