जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समेत वञ्चित हुनुपरेको छ ।
‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २० महिला सहित ९५ जनाको क्षमता रहको भए पनि हाल २१ जना महिला सहित ४ सय ६९ जना कैदीबन्दी रहेका छन् ।
जिल्ला कारागार, कञ्चनपुरका चौकीदार प्रकाश मल्लले क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएकै कारण शौचालय प्रयोग गर्न, नुहाउन र खानेपानका लागि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो ।
गर्मी मौसम छ । चारैतिर मच्छर छन् । मलेरिया हुने डर छ । पानी पर्दा भवन चुहिन्छ । पालैपालो त्रिपाल लगाएर सुत्नुपर्दछ उहाँले भन्नुभयो– ‘४ सय ६९ जना कैदीबन्दी छन् । तर, पुरुषको लागि १२ र महिलाको लागि दुई ओटा मात्रै शौचालय छन् । स्नानगृह महिलाको लागि एक र पुरुषकको लागि ६ ओटा मात्रै व्यवस्था गरिएको छ ।
कारागारका नाईके सञ्जय थापाले क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो ।
महिला कैदीबन्दीहरुसँगै आश्रित चार वर्षीय एक बालक आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । उहाँले भन्नुभयो– ‘कोठामा कोचिएर बस्न समेत पाइएको छैन् । सुत्नका लागि पालो कुरेर बस्नु पर्ने अवस्था छ । शौचालय जान पालो कुर्नु पर्ने, चिसोको समयमा ओढ्ने ओछ्याउने लुगाको समस्या हुने र भवन जीर्ण हुनाले पानी पर्दा चारै तिर चुहिने समस्या छ । खाना खाने, सुत्ने र शौचालय जाने समयमा घण्टौँसम्म पालो कुर्नु पर्ने बाध्यता छ ।
एउटा कोठामा १० जनासम्म बस्नु पर्नेभएकोले सुत्नको लागि खाटको समस्या भएको, तीन÷तीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी सकुन्तलादेवी सुनारले गुनासो गर्नु भयो ।
जिल्ला कारागारको भवन जीर्ण अवस्थामा रहेका कारण पानी परेको समयमा छत चुहिने सास्ती खेप्नुपरेको र कारागार परिसर भित्रै पालमा समेत कोचिएर बस्नु पर्ने बाध्यता रहको कैदीबन्दीहरुको गुनासो छ । कारागार भित्र खेलकुदका सामाग्री भए पनि खेल्ने ठाँउ छैन् । मनोरञ्जनका साधनहरु र पुस्तकहरु समेत छैनन् ।
कारागारलाई सुधार गृहका रुपमा परिभाषित गरेको भए पनि त्यस अनुसारका कार्यक्रम तथा व्यवस्थापन नगरिएको कारण कैदीबन्दीहरुले नरकीय जिवन बिताउन पर्ने बाध्यता रहेको सिनेयर अहेब भानदेव जोशीले बताउनु भयो ।
कारागारमा ६ जना जटिल मानसिक रोगी, १ सय ७ जना सामान्य मानसिक रोगी, सात जना दीर्घरोगी, एक जना एचआईभी पीडित र एक जना मृगौला पीडित रहेका र ठाउँ अभावमा सबै प्रकारका कैदीबन्दीहरुलाई एउटै ठाउँमा राखिएको कारण स्वास्थ्य चेकजाँच तथा उपचारमा समेत समस्या हुनेगरेको सिनेयर अहेब जोशीको भनाइ छ ।
०२३ सालमा स्थापना भएको कारागार अहिले जीर्ण अवस्थामा रहेको र दिनदिनै थपिरहने कैदीहरुको चापले खान, बस्न र शौचजान पालो कुर्नु पर्ने बाध्यता रहेको निमित कारागार प्रमुख रामदत्त जोशीले बताउनु भयो ।
जीर्ण कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापन गर्न चुनौती उत्पन्न भएको, वर्षातको समयमा कारागार भवनको छत चुहिनेभएकोले कैदीन्दीले सास्ती खेप्नुपरेको, भौतिक पूर्वाधार निर्माणमा कुनै पनि निकायले ध्यान नदिएको र व्यवस्थापनको अभावमा कैदीबन्दीबीच आपसमा झैझगडा र मारपिट हुने जोखिम रहेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराले लागुऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको र जिल्ला कारागार कञ्चनपुरमा हाल सबै भन्दा बढी लागुऔषधका कैदीबन्दी रहेका बताउनु भयो ।