INSEC Online

📅 २०८३ जेष्ठ २१

वडामै पुगेर नागरिकता र राष्ट्रिय परिचय–पत्र वितरण- इन्सेक अनलाइन प्रभाव

दुर्गम क्षेत्रबाट आउने ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका व्यक्तिले राष्ट्रिय परिचय–पत्र बनाउन समस्या भोग्नुपरेको समाचार इन्सेक अनलाइनमा प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय, दार्चुलाले वडामै पुगेर नागरिकता र राष्ट्रिय परिचय–पत्र दर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म शिविर सञ्चालन गरी नागरिकता वितरण तथा राष्ट्रिय परिचय–पत्र दर्ता गरेको हो । साउन ९ गते इन्सेक अनलाइनमा ‘राष्ट्रिय परिचय–पत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती’ समाचार प्रकाशन भएको थियो ।

photo2025darchula (2)

समाचार लगत्तै सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामी नेतृत्वको टोलीले लेकम गाउँपालिकाका बस्तीमा पुगेर नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा राष्ट्रिय परिचय–पत्र दर्ता गराउने काम गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार एकसातामा लेकम गाउँपालिकामा १ सय ४१ जनालाई नागरिकता प्रमाणपत्र प्रतिलिपि वितरण गरिएको छ । जसमा ५९ जना पुरुष तथा ८२ जना महिला रहेका छन् ।

photo2025darchula (3)

यसैगरी ७२ जना पुरुष र १ सय २५ जना महिला गरी १ सय ९७ जनाको राष्ट्रिय परिचय–पत्र बनाउन दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिनुभयो । राष्ट्रिय परिचय–पत्रमा नाम दर्ता र नागरिकता पाउनेमा ज्येष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला रहेका छन् ।

शिविरको क्रममा लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम १ का ९६ वर्षीय परूलीदेवी बोहरालाई घरमै नागरिकताको प्रतिलिपि समेत उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी धामीको भनाइ छ ।

photo2025darchula (4)

सामाजिक सुरक्षा भत्ता पाउनका लागि राष्ट्रिय परिचय–पत्र अनिवार्य गरेपछि दुर्गम क्षेत्रबाट बृद्धबृद्धाहरु सास्ती खेप्दै जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने गरेका थिए । भौगोलिक विकटताले धेरै बृद्धबृद्धा सदरमुकामसम्म आउन सक्ने अवस्थामा समेत नभएको अवस्थामा इन्सेक अनलाइनमा समाचार प्रकाशनपछि जिल्ला प्रशासन कार्यलयको टोली दुर्गमगाउँमा पुगेर राष्ट्रिय परिचय–पत्र दर्ता तथा नागरिकता प्रमाण–पत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकरी धामीले बताउनु भयो ।

photo2025darchula (8)

अन्य

भिडियो