INSEC Online

📅 २०८३ जेष्ठ २१

चुरेमा भइरहेको अत्यधिक दोहन तराई मधेशका लागि ठूलो समस्याः डा दास

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मानव अधिकार शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले चुरेमा भइरहेको अत्यधिक दोहनको असर मधेशमा देखिन थालेको बताउनु भएको छ । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “३१ औं प्रकाश मानव अधिकार पुरस्कार” वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो मधेशमा देखिएको खडेरी तथा सुक्खा अवस्था वातावरण विनाशको कारण सिर्जना भएको हो ।

Gaurishankar lal Das

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त डा. सूर्यप्रसाद ढुंगेलले नेपालको मानव अधिकार अभियानमा काफ्लेको योगदानको स्मरण गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षकले वातावरणीय अधिकारका सवालमा पनि सकृय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले नेपालको मानव अधिकार आन्दोलनमा इन्सेकले अघि बढाएका अभियान स्वर्गीय प्रकाश काफ्लेले अघि बढाएको अभियानको अनुयायी भएको बताउनु भयो ।

Photo 2025-08-01 Lalitpur (1)

उहाँले वातावरण र जलवायु परिवर्तनको असरले तराईका जिल्लाहरूमा परेको असरले नेपालमा खाद्य सङ्कट हुनसक्ने बताउँदै चुरे विनाशका कारण भइरहेको समस्याले पारेको असरबारे समयमै सचेत हुनुपर्नेमा जोड दिनु भयो ।

गैरसरकारी संस्था महासंघ नेपालका पूर्व पदाधिकारी तथा वातावरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालीले फोहोरलाई मोहोरमा परिणत गरी सरकारले बढीमा २० प्रतिशत र निजी क्षेत्रबाट ८० प्रतिशत फोहोर व्यवस्थापन गर्दै आएको बताउनु भयो । समाजमा उपभोक्ता मात्र रहेको तर संरक्षण गर्ने परिपाटी विकास नहुँदा नेपालमा जलवायु परिवर्तनको असरले पानीको समस्या हुन लागेकोले प्राकृतिक स्रोतको संरक्षणका लागि आह्वान गर्नुभयो ।

Photo 2025-08-01 Lalitpur (2)

सामुदायिक वन उपभेक्ता राष्ट्रिय महासंघका अध्यक्ष ठाकुर भण्डारीले नेपालका ३७ जिल्लालाई समावेस गरी २०७१ सालदेखि सरकारले वातावरण ऐन अनुसार चुरे क्षेत्र घोषणा गरेपछि चुरे क्षेत्रको दोहन भइरहेकोले राष्ट्रपति चुरे संरक्षण समिति खारेज गरी समुदायका एक करोड ६२ लाख घरपरिवारबाट चुरे संरक्षण गर्ने अभियानमा एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

Photo 2025-08-01 Lalitpur (4)

कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनु अहिलेको जिम्मेवारी रहेको बताउनु भयो । नयाँ सन्दर्भमा वातावरणीय अधिकार महत्वपूर्ण विषय भएको ठानेर इन्सेकले सन् २०२५ को नेपाल मानव अधिकार वर्ष पुस्तकमा वातावरणको अधिकारलाई प्राथमिकता दिएको बताउनु भयो ।

Kundal aryal

३१ औं प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिका सदस्य गङ्गा कसजुले पुरस्कार छनौट प्रक्रियामा अपनाइएका बिधि र छनौट कार्यको बारेमा चर्चा गर्नु भयो ।
सम्मानित व्यक्तित्व सुनिल कुमार यादवले अहिले मधेशले झेल्दै आएको जलबायुको असर र पानीको समस्या हुन सक्छ भन्ने परिकल्पनाका साथ २०७४ सालमा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ भनेर चुर संरक्षण अभियान सञ्चालन गरिएको स्मरण गर्नुभयो ।

Photo 2025-08-01 Lalitpur (5)

इन्सेकले पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरेअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आउनु भएका यादवलाई छनोट गरिएको हो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डाक्टर सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य हुनुहुन्थ्यो ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनु भएको पुरस्कार छनौट समितिका सदस्य गंगा कसजुले जानकारी दिनुभयो ।

कार्यक्रममा चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आउनुभएको बताइएको थियो ।

पुरस्कृत व्यक्तित्व यादवलाई कार्यक्रमका प्रमुख अतिथि डा. दासले नगद ५० हजार रुपियाँ सहित सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गर्नुभएको थियो ।

Puraskar-01

Puraskar

Photo 2025-08-01 Lalitpur (10)

 

अन्य

भिडियो