INSEC Online

📅 २०८३ जेष्ठ २१

रौतहट घटनाका पीडित परिवारलाई प्रदेश सरकारद्वारा ५ लाख रुपियाँ राहत

इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय राम महराको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपियाँ राहत दिने जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेद्रकुमार यादवले भदौ १४ गते विज्ञप्ति जारी गरी हिरासतमा रही उपचारको क्रममा भदौ ११ गते बिहान नेशनल मेडिकल कलेज बीरगंजमा मृत्यु भएका महरा परिवारलाई सो रकम दिने उल्लेख गर्नुभएको हो ।

उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाइएको छ ।

इलाका प्रहरी कार्यालय गरुडा रौतहटका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा भदौ १३ गते फिर्ता बोलाइएको छ ।

यसअघि, भदौ ११ गते जनकपुरका मानव अधिकारकर्मीहरूले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको उच्चस्तरीय छानविन समिति गठन गरी अनुसन्धान गर्न माग गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एडभोकेसी फोरम, थर्ड एलाइन्स र ओरेक नेपालले राज्यको नियन्त्रणमा रहेका विजय रामको मृत्यु प्रकरण घटनालाई छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने लगायतका चार सुत्रीय माग गर्दै भदौ ११ गते विज्ञप्ति जारी गरेका थिए ।

मानव अधिकारकर्मीहरूले मृतक परिवारको उपस्थितिमा सवको पोष्टमार्टम विश्वसनीय वातावरणमा विशेषज्ञहरूको टोलीबाट गर्नु पर्ने, घटनाको निष्पक्ष र स्वतन्त्र छानविन तथा अनुसन्धान गर्नका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने, मृतक परिवारलाई न्यायको प्रत्याभूति हुने गरी व्यवस्थापन गराउनु पर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन पर्ने लगायतका चार सुत्रीय माग गरेको इन्सेक प्रदेश २ संयोजक राजु पासवानले बताउनु भयो ।

मृतकको शवको काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पताल महराजगञ्जमा भदौ १२ गते पोष्टमार्टम गरिएको छ ।

अन्य

भिडियो